उत्तरसँग मिसाइलले हान्ने आणविक हतियार पनिउत्तर कोरियाली नेता

एजेन्सी–किम जोङ उनले ब्यालिस्टिक मिसाइलमा राखेर प्रयोग गर्न मिल्ने साना आणविक हतियारहरू आफ्ना वैज्ञानिकले विकास गरेको बताएका छन् ।

राज्य नियन्त्रित सञ्चारमाध्यमद्वारा सार्वजनिक तस्बिरमा किमलाई त्यस्ता लघु आणविक हतियारसँगै उभिएको देखाइएको छ । तर यो दाबीको पुष्टि तस्बिरका आधारमा मात्र हुन सक्दैन । विशेषज्ञहरूले यस्ता दाबीमाथि पहिलेदेखि शंका गर्दै आएका हुन् ।

उत्तर कोरियाले राष्ट्रसंघले नाकाबन्दी कडा पारेपछि पनि आफ्नो धम्कीपूर्ण भाषामा झन् निखार ल्याएको छ । प्योङयाङले चौथो आणविक परीक्षणका साथै भूउपग्रह प्रक्षेपण गरेपछि सुरक्षा परिषद्ले यस्तो कदम चालेको हो । दुवै कामबाट विद्यमान प्रतिबन्धको उल्लंघन भएको थियो ।

पछिल्ला दिनमा अमेरिका र दक्षिण कोरियाले हालसम्मकै सबैभन्दा सघन संयुक्त सैनिक अभ्यास थालेपछि प्योङयाङले दुवै देशमाथि कुनै पनि बखत आणविक आक्रमण गर्न सक्ने धम्की दिएको छ । फोल इगल र कि रिजल्भ नामक यस्ता अभ्यासका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्ने गरेको छ ।

बुधबार एक आणविक भट्टीमा निरीक्षण गरेका बखत किमले यस्तो दाबी गरेका हुन् । ‘आणविक हतियारलाई ब्यालिस्टिक मिसाइलमा जडान गर्न मिल्ने गरी सानो आकारमा तयार गरिएको छ,’ सरकारी समाचार एजेन्सीसँग किमले भनेका छन् । ‘यसलाई वास्तविक आणविक निवारक भन्न सकिन्छ,’ उनले भने ।

किमले थर्मो न्युक्लियर रियाक्सनका लागि तयार गरिएका हतियारहरूसमेत निरीक्षण गरेका थिए । जुन हाइड्रोजन बम बनाउन प्रयोग हुन्छ । यो दाबी सत्य ठहरिए, उत्तरले ब्यालिस्टिक मिसाइलमा राखेर आणविक बम हान्न सक्ने भए छिमेकी मुलुकसहित अमेरिकालाईसमेत त्यसले खतरा पुर्‍याउने देखिन्छ ।

अक्टोबर २०१४ मा दक्षिण कोरियास्थित अमेरिकी फौज कमान्डर जनरल कर्टिस स्कापारोट्टीले उत्तरसँग आणविक हतियारलाई सानो रूपमा तयार पार्न सक्ने खुबी भएको बताएका थिए । मे २०१५ मा उत्तर कोरियाली राष्ट्रिय प्रतिरक्षा आयोगले पनि मुलुक उक्त काममा सफल भएको घोषणा गरेको थियो ।

तर उत्तरका आणविक शक्तिसम्बन्धी दाबीलाई अझै थुप्रै वैज्ञानिकले पत्याएका छैनन् । गत जनवरीमा गरिएको परीक्षणलाई पनि हाइड्रोजन बमकै भनेर उनीहरूले विश्वास गरेका छैनन् ।
राष्ट्रसंघद्वारा थपिएका नाकाबन्दीबाहेक दक्षिण कोरियाले उत्तरविरुद्धका विभिन्न कारबाहीको घोषणा गरेको छ ।

जसमा हतियार कार्यक्रमसँग सम्बद्ध व्यक्तिहरू तथा संस्थाको कालोसूची बनाउने पनि पर्दछ । अमेरिका र दक्षिण कोरियाले थाड नामक मिसाइल प्रतिरक्षा प्रणाली राख्ने विषयमा छलफल अगाडि बढाएका छन् । जसको उत्तर कोरिया, रसिया तथा चीनले विरोध गरेका छन् ।