महाशिवरात्रिमा ११ लाख दर्शनार्थी आउने अपेक्षा

फागुन २३, काठमाडौं– पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्व मनाउन सम्पूर्ण तयारी पूरा गरेको छ। कोषले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्ष शिवरात्रिमा करिब ११ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको जानकारी दिइयो। महाशिवरात्रिका दिन सोमबार विहान तीन बजेदेखि चारवटै ढोका खुल्ने गरी दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ। बत्तीसपुतली–गौशालाबाट पिंगलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोका प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी विमानस्थलतर्फबाट तिलगंगा राममन्दिर हुँदै बागमतीपारि आर्यघाटतर्फबाट अर्को लाइन हुनेछ। यसपटक कोषले दर्शनार्थीलाई सजिलै मन्दिर दर्शन गराउन जुन ढोकाबाट प्रवेश गर्यो सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको जनाएको छ। सशुल्क दर्शन गर्ने पुरानै व्यवस्थाअनुसार कोषको कार्यालयका अतिरित्त एसबीआई बैँक र नेपाल इन्भेष्टमेन्ट बैँकबाट हजार रुपैयाँ तिरेर टिक लिन सकिने कोषले जनाएको छ। (अन्नपूर्ण पोस्ट दैनिकबाट)