‘वैदेशिक रोजगार व्यवसायालाई व्यवस्थित गर्नुपर्छ’

फागुन २१, काठमाडौं– वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
बोस्टर मिडियाले आयोजना गरेको ‘वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा संसदको सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्याहरुलाई समाधान गर्नुपर्ने बताए । चारैतिरको कुशासनलाई सुशासानमा बाल्नुपर्नेमा सभापति राठौरले जोड दिए ।
‘वैदेशिक रोजगारमा जाने व्यक्तिहरुमा समस्यामा परेका छन्, अहिले प्रहरीले उजुरीका अधारमा छापा मारेको होला त्यो ठिकै छ’ उनले भने । वैदेशिक रोजगार व्यवसायीलाई आतंकित हुने गरी प्रहरीले छापा मार्नु नहुँने उनले बताए ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले व्यवसायमा केही समस्या भएपनि प्रहरीले गैरकानुनी रुपमा छापा मारेको बताए । ‘प्रहरीले गैरकानुनी आतंक मच्चाइरहेको छ, यो उसको अधिकार क्षेत्रभित्रको होइन ।’
आफूहरुले अनुगमन होस् भन्ने चाहेपनि पनि सम्बन्धित निकायले गरोस् भन्ने चाहेको बताए । ‘हामीले प्रहरीले छापा मारेकोमा आपत्ति होइन, वैदेशिर रोजगार व्यवसायलाई अनुगमन गर्ने वैदेशिक रोजगार विभागले हो, प्रहरीले होइन’ ढकालले भने ।
आफूहरु युवा शक्तिलाई विदेश नजाने वातावरण राज्यले बनाउँनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको भन्दै उनले सरकारीको कमजोरीका कारण वैदेशिक रोजगारमा गएकाहरुले दुःख पाइरहेको बताए । ‘तयारी विना नै सरकारले अर्को देशसँग श्रम सम्झौता गरेर गैरजिम्मेवार बन्छ, अरु देशका राजदूत आफ्ना देशका नागरिक समस्या पर्दा ठाउँमा पुग्छन तर हाम्रो देशका राजदूत उनीसँग मिलेर आफ्ना देशको कामदारको ज्याला तोक्छन्, समस्याको जड सरकार हो’ अध्यक्ष ढकालले भने ।
कार्यक्रममा यूएईको श्रमिक संगठनका अध्यक्ष राजेन्द्र अधिकारीले वैदेशिक रोजगार व्यवसायमा देखिएका समस्या र खाडीमा कामदारले भोगिरहेका समस्याबारे जानकारी गराएका थिए ।