भाडा नपाएपछि घरबेटीले सरकारलाई भने–पूर्वराष्ट्रपतिलाई अन्तै सारिदेऊ

फागुन १९, काठमाडौं– घरबेटी रविभक्त बिष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएपछि आफ्नो घरबाट पूर्वराष्ट्रपति रामवरण यादवलाई अन्यत्र सारिदिन माग गर्दै सरकारसमक्ष लिखित निवेदन दिएका छन्।

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकै दिन राष्ट्रपति कार्यालयका अधिकारीहरूले कात्तिक ११ मा ललितपुरको बागडोलस्थित बिष्टको घर भाडामा लिई निवर्तमान राष्ट्राध्यक्ष यादवलाई ‘सरकारी निवास’ उपलब्ध गराएका थिए। राष्ट्रपति कार्यालयको अधिकारीले घरबेटीसित मौखिक सहमतिमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडा ९कर, बिजुली र पानीको महसुलबाहेक० भाडा बुझाउने लिखित पत्रसमेत दिएका छन्। पत्रमा राष्ट्रपति कार्यालयका सहसचिव शंकरप्रसाद सुवेदीको हस्ताक्षर छ।

लामो समयसम्म राष्ट्रपति कार्यालय र सरकारका तर्फबाट घरभाडा नपाएको र घरभाडासम्बन्धी सम्झौता पनि नभएपछि घरबेटी बिष्टले तीन महिनाभित्र घर खाली गराइदिन माग गर्दै गत माघ ७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा निवेदन दिएका हुन्।

बिष्टले उक्त व्यहोराको पत्र माघ ११ मा राष्ट्रपति कार्यालयलाई समेत दिइएका छन्। सरकारले उपलब्ध गराएको निवासबाट यादवलाई हटाइदिन माग गर्दै प्रधानमन्त्री कार्यालयमा दिइएको पत्रको बोधार्थ यादवलाई समेत दिइएको छ।

निवेदनमा सात दिनभित्र सम्झौता गरी पूरै भाडा तिर्न र नतिरेमा तीन महिनाभित्र आफ्नो घर खाली गराइदिन माग गरिएको छ।(कान्तिपुर दैनिकबाट)