कांग्रेससँग असन्तुष्ट छ मधेस

फागुन १९, काठमाडौं– राणा शाहीविरुद्ध २००७ सालको क्रान्ति होस् या राजा महेन्द्रको ुकूु विरुद्ध २०१८ सालको सशस्त्र संघर्ष। सत्याग्रहदेखि विमान अपहरण काण्ड। नेपाली कांग्रेसका लागि तराई मधेस सधैं आधार रह्यो। दरभंगा, मधुवनी, जोगबनी, बैरगनिया, गोरखपुर, लखनउबाट सीमावारि तराईका जिल्लामा संगठन सञ्चालन गर्ने गथ्र्यो कांग्रेस। मधेसबाटै नेतृत्व विकास गर्दै महेन्द्रनारायण निधि, परशुनारायण चौधरीलाई महामन्त्री बनाउने यो दलले गणतन्त्रको राष्ट्रपति आफ्नै नेता रामवरण यादव चुन्यो।

त्यही मधेस आफूलाई पहिलोपटक संगठित गर्न आउने कांग्रेसप्रति असन्तुष्ट देखिन्छ। मधेस आन्दोलनको ९ वर्षबीच थुप्रै समर्पित कांग्रेस नेता, कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । यसरी कांग्रेस छाड्नेमा हाल तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारी, तराई मधेस राष्ट्रिय अभियान संयोजक जयप्रकाश गुप्ता, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवलगायत छन्। कांग्रेसबाट क्षेत्रीय दलमा जाने नेता कार्यकर्ताको अनुपातमा अरू दल पछि देखिन्छन्।

कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा मधेसको असन्तुष्टि खोतल्ने क्रम चलिरहेको छ। नयाँ बानेश्वरमा सोमबार जुटेका प्रदेश नम्बर २ अन्तर्गत आठ मधेसी जिल्लाका कांग्रेस कार्यकर्ताले महाधिवेशनमा मधेस मुद्दा छिराउने रणनीति बनाएका छन्। ुयोपल्ट महाधिवेशन हलभित्रै मधेस आन्दोलन गर्ने हाम्रो तयारी छ, किनकि नेतृत्वले मधेसको असन्तुष्टिको जरोसम्म नपुगी सुखै छैन,ुभेलामा सहभागी एक नेताले भने,ुहामी कांग्रेसलाई जमिनमा फर्काएरै छाड्छौं।ु

उसो त अहिले पनि तराई मधेसबाट अघिल्लो चुनावमा प्रत्यक्षतर्फ सर्वाधिक सिट ल्याउने पार्टी कांग्रेस नै हो, जसले एक्लै ५२ सिट हात पारेको छ। सत्तारूढ एमालेले ३७ सिट जित्दै गर्दा सबै मधेसवादी दलको प्रत्यक्ष सिट जोडदा ११ मात्रै हुन आउँछ। तैपनि किन अहिले फेरि असन्तुष्टि छ तरु सोमबारको भेलाका प्रतिनिधिले यसको जवाफ चुनावको सिट गनेर मात्रै नआउने, संविधानका कतिपय प्रावधानसँग देखिएको असन्तुष्टिको ज्वरोसम्म पुग्नुपर्ने सुझाएका छन्। (कान्तिपुर दैनिकबाट)