अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

फागुन १४, इलाम– अवैध सम्बन्धबाट गर्भधारण गरेकी इलाम चुलाचुलीकी एक महिलाको असुरक्षित सुत्केरी गराएका कारण ज्यान गएको छ।

चुलाचुली–२ निवासी २२ वर्षीया कविता खत्रीको सुत्केरी अवस्थामै बिहीवार राति ज्यान गएको हो।

वैदेशिक रोजगारका क्रममा श्रीमान् उत्तम खत्री दुई वर्षअघि विदेश गएपछि उनले अवैध गर्भधारण गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

साँझ सुत्केरी बेथाले च्यापेपछि ७ बजे घरमै बच्चा जन्मिएको थियो। बच्चा जन्मिनेबित्तिकै अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए।

बच्चा जन्मिनेबित्तिकै आमाको मृत्यु भएपछि बच्चाको बिचल्ली भएको छ। बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको परिवारले जनाएको छ। मृतकको शव परीक्षणका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रनि चुडालले बताए।