सत्य निरुपणका बहुमत सदस्य विदेश भ्रमणको पक्षमा

फागुन १४, काठमाडौं– गठन भएको एक वर्षसम्म एएटा मुद्दा समेत अनुसन्धान गर्न नसकेको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीका बहुमत सदस्यले विदेश भ्रमणमा जाने निर्णय गरेका छन्।

तर आयोग सदस्य माधवी भट्ट पराजुलीले भने यसमा आफ्नो असहमति दर्ज गरेकी छिन्।

आयोग स्रोतका अनुसार आयोग सदस्य श्रीकृष्ण सुवेदी चिली र पेरुको भ्रमणमा जाने निर्णय बिहीवार सम्पन्न ४४ औँ बैठकेले गरेको छ। उनको साथमा आयोगका सचिव र दुई अधिकृतसमेत रहनेछन्।

चितवनको बाँदरमुढेमा भ्रमण गर्न जाने विषयमा विवाद भएपछि आयोग सदस्यहरुलाई विदेश भ्रमणको प्रस्ताव अघि सारिएको थियो। भट्टबाहेक अध्यक्ष र सदस्यहरुले यसमा सहमति जनाएपनि धेरैले आफ्नो नामपछि राख्ने गरी भ्रमणका निम्ति सरकारसँग बजेट माग्ने निर्णय गरेका हुन्।

आयोग स्रोतका अनुसार कम्बोडिया र फिलिपिन्स जाने सुरुको प्रस्तावमा एमालेको तर्फबाट आयोग सदस्य रहेका लीला उदासी खनालको नाम रहेपनि उनले आफ्नो नाम नराख्न आग्रह गरेपछि प्रस्तावको भाषा फेरिएको थियो। निर्णयअनुसार सदस्य वा सचिवको नेतृत्वमा तीन अधिकृतले कम्बोडिया र फिलिपिन्सको भ्रमण गर्नेछन्। (नागरिक दैनिकबाट)