३७ घण्टा काम गर्न १३९ दिन

फागुन १२, काठमाडौं– श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताअनुसार साधारणतया वयस्क मानिसले दिनको ८ घण्टा सहजै काम गर्न सक्छन् । यसैअनुसार कार्यालय समय पनि दिनको ८ घण्टा निर्धारण गरिएको हुन्छ ।
देशको सर्वोच्च विधायनी अंगमा भने जम्माजम्मी ३७ घण्टा १५ मिनेटको कामका लागि १ सय ३९ दिन खर्च भएको छ । संसद् सचिवालयको रेकर्डअनुसार संसदको पहिलो अधिवेशन चालु रहेको १ सय ३९ दिनमध्ये ४१ दिन मात्रै कार्यदिन थिए ।
त्यस अवधिमा बसेका ४४ बैठकका लागि सांसदले ३७ घण्टा १५ मिनेट खर्चिएका हुन् । यसमा सांसदले गरेका अनौपचारिक काम र विषयगत समिति, उपसमितिका बैठकको समय हिसाब गरिएको छैन । रूपान्तरित संसदको गत असोज १५ बाट सुरु पहिलो अधिवेशन फागुन ५ मा सकिएको हो ।

संविधानसभाले संविधान निर्माणको मुख्य जिम्मेवारी पूरा गरेपछि व्यवस्थापिका संसद्मा रूपान्तरित भएको सदनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई तीव्र गतिमा अघि बढाउन सकेन । नेपालको संसदीय अभ्यासमा हिउँदे अधिवेशन विधेयकमा र वर्षे अधिवेशन बजेटमा केन्द्रित हुन्छ ।(कान्तिपुर दैनिकबाट)