कांग्रेस सभापतिमा सुशील उठ्ने तयारी

माघ १९, काठमाडौं– कांग्रेस सभापति सुशील कोइराला तीव्र दबाबबीच सभापतिको उम्मेदवार बन्ने भएका छन्। आफू अघि नबढदा संस्थापन पक्ष तितरबितर हुने तर्क गर्दै कोइरालाले पुनः उठने तयारी गरेका हुन्।

स्रोतका अनुसार क्षेत्रीय र जिल्ला अधिवेशन सकिनासाथ उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नेछन्। उम्मेदवारीमा सहमति जुटाउन सभापतिका आकांक्षी उपसभापति रामचन्द्र पौडेल र कोइरालाबीच आइतबार राति छलफल भएको थियो।

तर, छलफल निष्कर्ष नपुगेपछि दुवैजना आ–आफ्नो तयारीमा जुटेका छन्। दुवैले आफू निकटकासँग छलफल गरिरहेका छन्। आइतबारै साँझ संस्थापन पक्षको छलफलमा दोस्रो तहका नेताहरूले तीन शीर्ष नेताहरूलाई नउठन सुझाव दिँदै आफूहरूको आकांक्षा व्यक्त गरेका थिए।

पौडेल उम्मेदवार बन्दा वरिष्ठ नेता शेरबहादुर देउवालाई सहज हुने बुझाइ कोइरालाको छ।(कान्तिपुर दैनिकबाट)