नाकाबन्दी खोल्न मधेसी मोर्चाले मानेन

माघ १९, काठमाडौं– ९ माघको वार्ता भाँडिएपछि अनौपचारिक संवादमा समेत नरहेका प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच ११ दिनपछि सोमबार वार्ता भएको छ। राज्य व्यवस्था समितिको हलमा भएको वार्तामा मोर्चाबाट महन्थ ठाकुर मात्रै सहभागी थिए। उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव भारतको बिहारमा रहेकाले सहभागी भएनन् ।

तीन दल र मोर्चाको कार्यदललाई पुनः सक्रिय बनाउने सहमति भएको छ। ‘उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र उक्त संयन्त्रको टिओआर बनाएर तीन महिनाभित्र टुंगो लगाउने गरी छलफल गर्न कार्यदललाई सक्रिय बनाउने सहमति भयो,’ वार्तामा सहभागी एमाले वरिष्ठ नेता झलनाथ खनालले भने । ७ माघमा जुन बिन्दुमा कुरा अड्किएको थियो, त्यही बिन्दुबाट कार्यदलले काम सुरु गर्ने सहमति भएको उनको भनाइ थियो।

दुई दिनभित्र घाइतेलाई पैसा

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सरकारले मधेस आन्दोलनका घाइतेको निस्शुल्क उपचार गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय कार्यान्वयन नभएको भन्दै मोर्चाले सोमबारको वार्तामा कुरा उठाएको थियो । मोर्चा संयोजक ठाकुरले उक्त कुरा उठाएपछि तीन दलले घाइतेहरूका बारेमा विस्तृत अध्ययन गरी दुई दिनभित्र निर्णय गर्ने सहमति भएको छ । अध्ययन गर्ने जिम्मा भने रक्षामन्त्री भीम रावललाई दिइएको छ।

मोर्चाका सर्त

मोर्चाले वार्ताको वातावरण बनाउन तत्काल तीनवटा निर्णय गर्न आग्रह गरेको थियो । तत्काल घाइतेको उपचार खर्च निकासा गर्न, मुद्दा फिर्ता र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको मोर्चा नेता अशोक राईले जानकारी दिए । तीन दलले ती मागबारे सकारात्मक जवाफ दिएका छन् ।(नयाँ पत्रिका दैनिकबाट)