इजरायलमा नर्सलाई प्राथमिकता

माघ १८, काठमाडौं – इजरायल जान नर्स, अनमी र सिएमए अध्ययन गरेका छनोटमा परेपछि निकै लामो समयदेखि केयर गिभर तालिम लिएर बसेका महिलाहरु निरास भएका छन्।

बहुप्रतिक्षित इजरायल जान बैदेशिक रोजगार विभागले दरखास्त माग गर्दा केयर गिभरको तालिम लिएकालाई समेटे पनि अन्तिम समयमा भने केयर गिभरको तालिम लिएका कुनै पनि उम्मेदवार छनोटमा परेका छैनन्।

पहिलो चरणमा ६० जनालाई इजलारयल पठाउने तयारी गरेको विभागले प्रकाशित गरेको एक सय जनाको नामावलीमा केयर गिभरको तालिम लिएका कसैको नाम छैन। उक्त नतिजा सार्वजनिक भएलगत्तै ठूलो संख्याका उम्मेदवारले अन्याय परेको गुनासो गरेका छन्। तीन महिना केयर गिभरको तालिम लिएको प्रमाणपत्र पेश गरेकाहरुको निवेदन अस्वीकृत गरेको जानकारी पाएपछि दैनिक ५० जना भन्दा बढी विभागमा पुगेर गुनासो गर्ने गरेको एक कर्मचारीले बताए।

केयर गिभरको काम गर्न इजरायल जान २०६८ सालदेखि तयारी गरेको बताउने बारा निजगढकी गंगादेवी प्रसाई थापाले विभागले प्रकाशित गरेको नतिजा देख्दा  अचम्म लागेको गुनासो गरिन्। (नागरिक दैनिकबाट)