उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

माघ १७, काठमाडौं– सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ।

सिंहदरबारमा बिहान साढे ९ बजेपछि बस्ने बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ।

बैठकमा संविधान संशोधनपछि पनि खुल्न नसकेको भारतीय नाकाबन्दी, मधेसी मोर्चासँग गरिने वार्तालगायत विषयमा पनि छलफल हुने स्रोतले बताएको छ। सत्तारुढ दलहरुवीच नै सरकारका कामकारबाहीबारे असझदारी बढेपछि संयन्त्रको बैठक बोलाइएको हो।

एमाओवादी स्थायी समितिको बैठकमा सरकार र मन्त्रीहरुको कार्यशैलीप्रति प्रश्न उठेपछि संयन्त्रका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि संयन्त्रको बैठक बोलाएका हुन्।

प्रचण्डले हिजो साँझ प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग  संयन्त्रको  बैठक  बोलाउनेबारे छलफल गरेका थिए।