कांग्रेसमा ९७ सदस्यीय कार्यसमितिको प्रस्ताव, देउवा पक्षको फरक मत

माघ १३, काठमाडौं– कांग्रेस संस्थापन पक्षले तीन उपसभापति सहित ९७ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्तावसहितको विधान मस्यौंदा तीन शीर्ष नेतालाई बुझाएको छ।

संगठन विभाग प्रमुख समेत रहेका आनन्द ढुंगाना संयोजकत्वमा गठित विधान समितिमा पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको संख्या बढाउने बिषयमा सहमति नजुटेपछि संस्थापन पक्ष र बरिष्ठ नेता शेरवहादुर देउवा पक्षको फरक मतसहितको प्रस्ताव शीर्ष नेतृत्वलाई बुझाइएको हो।

विधान समितिमा रहेका देउवा पक्षीय सदस्यले पार्टीको आवश्यकता भन्दा व्यक्ति व्यवस्थापनका लागि पदाधिकारी बढाउने प्रस्ताव ल्याइएको भन्दै आपत्ति जनाएका थिए। विधान मस्यौंदा समितिमा पदाधिकारी बढाउने र नबढाउने वीच विवाद बढेपछि समाधान खोज्न तीन नेताको जिम्मा दिइएको हो।

विधान समिति सदस्य एवं पार्टी प्रवक्ता दिलेन्द्र बडुले तीन शीर्ष नेताबीच सहमति जुटोस भनेर समितिमा आएको फरक मतसहितको प्रस्तावित मस्यौदा बुझाइएको बताए।‘केन्द्रीय कार्यसमिति ८५ सदस्यीय भन्दा बढाउन नहुने फरक विचार पनि आएको छ’ उनले भने,‘त्यसलाई पनि संगै राखेर नेतृत्वलाई बुझाइएको छ।’

संस्थापन पक्षको बहुमत रहेको समितिमा संयोजक ढुंगानाले एक निर्वाचित सहित तीन उपसभापतिको पद बढाउने प्रस्ताव गरेका छन्। त्यसमा एक महिला उपसभापति रहने प्रस्ताव छ। एक जना निर्वाचनबाट र दुई उपसाभापति सभापतिबाट मनोनयन गर्ने प्रस्ताव छ। त्यस्तै सहमहामन्त्री आवश्यकताअनुसार बढाउन सकिने प्रस्ताव छ।

प्रादेशिक संरचना अनुसार केन्द्रीय कार्यसमितिको आकार ९७ जना हुने प्रस्ताव छ।(कान्तिपुर दैनिकबाट)