‘मोहिनी’ को प्रदर्शनी

माघ १०, काठमाडौ– बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार नविन सुवेदीले बनाएका  मुर्तिहरुको प्रदर्शनी आजदेखि सुरु भएको छ ।

‘मोहिनी’ शीर्षक दिइएको सो प्रदर्शनीको आज राष्ट्रकवि माधवप्रसाद घिमिरेले उद्घाटन गर्दै मुर्ति बनाउने कलाकारहरु सधैँ दुर्गममा नै रहने भएपनि उनीहरुको प्रतिभाले उनीहरुलाई राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रियस्तरसम्म पहिचान दिलाउने बताए ।

कलाको महत्व सबैले बुझ्नुपर्ने बताउँदै उनले भने –‘कला र कलाकार राष्ट्रका गहना हुन् उनीहरुको सम्मान गर्नुपर्छ ।’

कार्यक्रममा कलाकार मदन चित्रकार, गीतकार कृष्णहरि बराल, सञ्चारकर्मी नवराज लम्साललगायतले युवा उमेरका कलाकार सुवेदीले गरेको कामको सह्राहना गर्दै यसले उनलाई सदैव जीवन्त राख्ने बताए ।

मोरङ लेटाङ भोगटेनीमा २०४० सालमा जन्मिएका कलाकार सुवेदीले हालसम्म ३५० भन्दा बढी ढुङ्गामा मुर्ति कुँदिसकेका छन् । उनले राष्ट्रकवि घिमिरेसहित भजन शिरोमणि भक्तराज आचार्य, अभिनेता राजेश हमाललगायतका विशिष्ट व्यक्तित्वका मुर्ति बनाइसकेका छन् ।

आजदेखि सुरु भएको उक्त प्रदर्शनी यही माघ १८ गतेसम्म चल्नेछ । कलाकारले बनाउनुभएकामध्ये गायक रामकृष्ण ढकाल, गीतकार कृष्णहरि बराल तथा अन्य मानव आकृतिका १८ मुर्ति प्रदर्शनीमा राखिएको छ ।