डा।नूतन शर्माको कारण अल्का अस्पतालमा १३ दिने सुत्केरीको ज्यान गयो

माघ १०, काठमाडौं – ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा नूतन शर्माको गैरजिम्मेवारीको कारण एक सुत्केरी अनाहकमा मृत्युको शिकार बन्नुपरेको छ । गर्भवती भएको आठ महिनामा नै गर्भवतीको आफन्तको स्वीकृतिविना नै अप्रेसन गरेर शिशुको जन्माएकी डा शर्माले आफूले खटाएका अन्य दुई डाक्टरले रिफर गरेको खानेकुरा समेत खान नदिँदा १३ दिने सुत्केरी शान्ति शर्मा घिमिरेको ज्यान गएको भन्दै आफन्तले अस्पताल प्रशासनमा विरोध प्रदर्शन गरेपछि शनिबार दिनभर अल्का अस्पताल तनावग्रस्त बनेको थियो ।

सुत्केरी भएको १० दिनमा अस्पतालबाट डिस्चार्ज गरेर लगिएको बिरामीको ज्वरो घरमा पुगेको दुई दिनमा नै झन्–झन् बढ्न थालेपछि मृतकका आफन्त बिरामी नलिई शुक्रबार अस्पतालमा आएर सबै कुरा जानकारी गराएका थिए । ‘त्यसबेला डाक्टर शर्माले औषधिले काम गर्न समय लाग्ने’ भन्दै एक साताभित्र निको हुने भएकोले बिरामीलाई अस्पताल ल्याउनु नपर्ने बताउँदा सुत्केरीको अनाहकमा ज्यान गएको मृतकका आफन्तले आरोप लगाएका छन् । ‘हामीले बिरामीलाई त झन् च्यापेको छ, बिरामी ल्याउनुपर्ला कि? भन्दा ‘औषधि जादूको छडी हो र? एक हप्ता त लागि हाल्छ नि यसले काम गर्न’ भनेर हकारेर पठाएकी थिइन्’ मृतकका देवर रोशन घिमिरेले भने, ‘यसमा डा शर्माको दादागिरी र लापरबाही दुवैको मिश्रित कारण देखिन्छ ।’

उता, अस्पतालका अध्यक्ष कुमार थापाले भने यो बिरामी र परिवारकै लापरबाहीको कारण भएको र यसमा अस्पतालको कुने कमजोरी नरहेको भन्दै आफ्नो बचावट गरेका छन् । ‘सबै उपचार सकेर पठाइसकेको बिरामीको घरमा पुगेपछि त्यो पनि तीन दिनपछि मृत्यु भएको छ भने यसमा हाम्रो दोष कसरी हुन्छ ?’ अध्यक्ष थापाले आर्थिकसँग भने, ‘हामीले पोस्टमार्टम गरौं भन्दा पनि उहाँहरू नै मान्नुहुन्न, हाम्रो दोष हो मात्रै भनेर हुँदैन ।’

उता, परिवारले भने डा शर्माले डेलिभरीको लागि तोकेको समय पुग्नुभन्दा अगाडि नै जबर्जस्ती अप्रेसन गर्न दबाब दिएको, अप्रेसन गर्नुअगाडि अप्रेसनको लागि सम्झौता समेत नगराएको लगायतका आरोप लगाएका छन् । उनीहरूले बिरामीको स्वास्थ्य समस्यामा सुधार नभएकोले अन्य अस्पतालमा लैजान खोज्दा पनि शर्माले आफूले हेरेको केश आफैंले निको पार्ने भन्दै जबर्जस्ती रूपले अघि बढेको कारण सुत्केरीको ज्यान गएको भन्दै डाक्टरलाई कारबाही गर्न र क्षतिपूर्ति दिलाउन पनि माग गरेका छन् । सो विषयमा कुराकानी गर्न खोज्दा डा नूतन शर्माले कुराकानी गर्न चाहिनन् ।http://emailkhabar.com/wp-admin/post-new.php
पीडित परिवारका अनुसार ललितपुरको सातदोबाटो स्थायी घर भएकीे २० वर्षीया घिमिरेको डाक्टरले तोकेको डेलिभरी समय पुग्न एक महिना र केही दिन बाँकी रहँदा सामान्य पेट दुखेको भन्दै अल्का अस्पताल पुर्याइएको थियो । सामान्य औषधिमूलो गरेर सो समयमा घर पठाइएकी शान्तिलाई प्रेसर र थाइराइडको समस्या बढेपछि डेलिभरी महिना पुग्नुभन्दा ठीक एक महिना अगाडि पुस २३ गते अल्का अस्पतालमा नियमित चेकजाँचको लागि पुर्याइएको थियो । त्यसै समयमा डा। शर्माले बिरामीको अप्रेसन गरेर बच्चा निकाल्नुपर्छ भनेपछि समय नपुगेको भन्दै परिवारले अस्वीकार गर्दा पनि जबर्जस्ती आर्थिक लाभको बदनियतीले अप्रेसन गर्न लगाएको र महंगा महंगा औषधिहरू किन्न लगाउने तर डाक्टर भने ढोकाबाट कहिलै पस्दै नपस्ने गरेकोे आरोप आफन्तले लगाएका छन् । ‘अप्रेसन गर्दा समेत हातको औंठीसमेत नखोली गरेकोबाट पनि डाक्टरको गैरजिम्मेवारी स्पष्ट भएको छ’, मृतकका देवर घिमिरेले भने, ‘बिरामी र बिरामी कुरूवा दुवैप्रति डाक्टरको व्यवहार एकदमै क्षुद्र हुने गरेको थियो ।(आर्थिक दैनिकबाट)