इन्डिया आर्ट फेयरमा नेपाली कलाकार टोली

काठमाडौं–कलाले सांस्कृतिक सम्बन्धलाई नजिक मात्रै ल्याउँदैन मानवीय संवेदनालाई पनि मिहिन रुपमा प्रस्तुत गर्ने गर्दछ । मानवीय सम्बन्धलाई नजिक ल्याउने र सांस्कृतिक पहिचानलाई समेत परिचित गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
नेपाल र भारतका जनताबीचको सांस्कृतिक सम्बन्ध हजारौं वर्षदेखि अन्योयाश्रित रहदै आएको छ । यसै मेलोमा भारतको नयाँ दिल्लीमा विश्वका कलाकारहरुको जमघट हुने अन्तर्राष्ट्रियस्तरको कला मेलामा नेपालका सातजना कलाकार सहभगी हुँदैछन् । पहिलोपटक नेपालबाट संस्थागत रुपमा प्रतिनिधित्व गर्दै नेपाल कला परिषद्ले सो मेलामा नेपाली कलाकारको टोलीलाई लग्न लागेको हो । ‘इन्डिया आर्ट फेयर–२०१६’ मा भाग लिन नेपाल कला परिषद्का उपाध्यक्ष सागर शमशेर राणाको नेतृत्वमा सदस्य शान्तकुमार राई र आयुषा श्रेष्ठ पनि सो मेलामा जान लागेको काउन्सिलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो ।
यही २८ जनवरीदेखि ३१ जनवरीसम्म हुने ‘इण्डिया आर्ट फेयर–२०१६’  मा भारत लगायत विश्वका प्रसिद्ध ग्यालरी, म्यूजियमले सो मेलामा सहभागिता जनाउँदछन् । नेपालबाट वीरेन्द्रप्रताप सिंह, समुन्द्रमानसिंह श्रेष्ठ, आशा डंगोल, विधाता केसी, हितमान गुरुङ, मनिष हरिजन र सिलाशा राजभण्डारीका २५ कलाकृतिसहित सहभागिता रहने नेपाल कला परिषदका सदस्य शान्त कुमार राईले बताए ।
प्रदर्शनीमा भूकम्पले थिल्थिलिएको नेपाली परिवेश, नेपाली पहिचान, नेपालबाट हराएका सांस्कृतिक सम्पदा लगायतका विषयमा कलाकारले तयार पारेका कलाकृति सो मेलामा राखिने सहभागी कलाकारले बताए ।
‘यो प्रदर्शनी नेपाली कलाको बजार बिस्तारका लागि अत्यन्त महत्वपूर्ण रहनेछ भने अर्कोतर्फ वर्तमान नेपाली र भारतीय जनताको सांस्कृतिक  सम्वन्धलाई यस प्रदर्शनीले  कलाको माध्यमबाट अझ प्रगाढ बनाउने विश्वास लिएका छौं,’ नेपाल कला परिषदका महासचिव शंकरनाथ रिमालले बताए । उनले थपे, ‘यो फेयर इण्डियामा हुने सबैभन्दा बृहत भएकाले र यसमा विश्वका प्रसिद्ध कलाकार, कला ग्यालरी तथा कलाक्रेताको जमघट हुने भएकाले नेपालका लागि यो पहिलोटकको सहभागिता महत्वपूर्ण रहेको छ ।’
‘नेपाली कलाकार दिल्लीमा हुने सो मेलामा सहभागी हुन पाउनु नै गौरवको विषय हो । हामीले पनि नेपाली कलालाई सकेसम्म अन्तर्राष्ट्रियस्तरमा पु¥याउन ुसक्दो कोशिश गर्नेछौं,’ मेलामा सहभागी कलाकार समुन्द्रमानसिंह श्रेष्ठले बताए ।
सो मेलामा नेपाली कलाका बारेमा परिषद सदस्य डा. डिना बाङदेलले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।