झलनाथले पाएनन् पिए

माघ ६, काठमाडौँ–देशकै ठूलो दलको महासचिव, अध्यक्षदेखि मुलुककै प्रमुख कार्यकारी पद प्रधानमन्त्रीसम्म बनेका र हाल सत्ताको नेतृत्व गरिरहेको दलले पनि वरिष्ठ नेताको दर्जा दिएको हाइप्रोफाइल व्यक्ति यतिबेला साथमा एउटा पिएसम्म नपाएर पिरिइरहेको होलान् भनी सोच्न सकिन्न । तर, मौका परे अझै प्रधानमन्त्री र राष्ट्रपतिजस्ता ओहोदामा आसीन हुन्छु भन्दै राजनीतिमा सयमा सय नै सक्रिय रहेका एमाले नेता झलनाथ खनाल एउटा पिएसम्मले पनि नपत्याएको नियति भोग्न विवश छन् ।

कुनै वेला आफूले निकै स्नेह र विश्वास गरेका पिए बनाइएका दीपकचन्द्र अमात्यलाई सुशील कोइरालाको पालामा खनालले नै विशेष पहल गरेर मन्त्री बनाइदिए । आफूसँग रहेका विभिन्न मालदार योजनालाई कार्यान्वयनमा ल्याएर यसो भविष्यको जोगाड गरौंला भन्ने सोचका कारण आफ्नो एसम्यानका रुपमा चिनिएका र पिएसमेत रहेका अमात्यलाई खनालले पर्यटनमन्त्री बनाइदिएका थिए । तर, मन्त्री भएपछि उद्देश्यपूर्तिका लागि ढाल बनिदेलान् भन्ने ठानिएका अमात्यले उल्टै खनालका ड्राइभरलाई नै आफ्नो पिए बनाएर लगिदिए । लामा थरका ती चालक आफ्नो पूर्वपिएकै पीए बन्न पुगेपछि निकै समय पिएबिना नै काम चलाएका खनालले पछि निकै प्रयास गरेर अर्का एक युवकलाई पिए बनाएर भित्राएका थिए । तर, बल्लतल्ल भित्राएको उक्त पिएमाथि समेत उनको पुत्रको नजर लाग्यो । बाबुले पिए बनाएर ल्याएका पात्रलाई छोरा निर्भीकले हितैषी दोस्त बनाएर बोक्न थाले । खनाल फेरि पनि हेरेको हेर्यै भए । यतिवेला एमालेबाट खास जिम्मेवारी नपाएका वरिष्ठ नेता माधवकुमार नेपालसँग त बरु पिएको जिम्मेवारी निर्वाह गरिदिने तीन–चारजना छन् । नेपाललाई भेट्न पार्टीइतर र भितरका मानिसको लाइन नै लागेको हुन्छ । तर हेर्दै खाइलाग्दा खास नेता देखिने खनालकहाँ भने न भेटघाट र चाकडी गर्नेको लर्को छ न त भेटघाटको चाँजोपाँजो मिलाइदिने पिए नै छन् । (घटना र विचार साप्ताहिक)