सप्तरीमा कर्फ्यू तोडेर प्रदर्शन, सरकारी कार्यालयहरुमा आगजनी

मंसिर ७, सप्तरी – कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले सरकारी कार्यालयहरुमा अगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले राजविराजस्थित भन्सार कार्यालयमा आगजनी गरेका छन् । यद्यपि प्रहरीले तत्काल आगो निभाएको छ र ठूलो क्षति हुन पाएन ।
मोर्चाका कार्यकर्ताले भूसंरक्षण कार्यालयमा आगजनी गरेका छन् । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजात, टेबल, कुर्सी लगागत जलेर नष्ट भएको छ ।
यस्तै कोइलाडी बरसाइनस्थित प्रहरी चौकीमा आगो लगाएका छन् । राजविराजको दर्शक चोक र गजेन्द्र चोकमा झडप भएको छ । प्रहरीले आन्दोलनकारीलाई तितरवितर पार्न २० सेल अश्रुग्यास र सात राउण्ड हवाइ फायर गरेको छ ।
मोर्चाका कार्यकर्ताले भारदहमा प्रहरीले स्कटिङ गरेर लैजान लागेको ना ४ ख ७०४५ नम्बरको बस र ना ४ ख १६०१ नम्बरको ट्रकमा तोडफोड गरेका छन् । बरमझियामा ट्रकमा अगजनी गरेका छन् ।
सप्तरी शनिबारदेखि तनावग्रस्त छ । राजमार्ग खुलाउने क्रममा प्रहरीले चलाएको गोलीबाट दुई जनाको मृत्यु भएको छ भने आइतबार दिउँसो अर्का एकको पनि गोली लागेर मृत्यु भएको छ ।