मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन गर्ने बालुवाटारको निर्णय

मंसिर ७, काठमाडौँ – प्रमुख दलहरु मधेसी मोर्चाको सहमतिमा संविधान संशोधन विधेयक अघि बढाउन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेससहितका प्रमुख दलहरुको बैठकले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । नयाँ सरकारले यो विधेयक अघि नबढाएको भन्दै कांग्रेसले संसदमा दबावमूलक आन्दोलन सुरु गरेको छ ।

बालुवाटार बैठकमा मधेसी मोर्चासहितको सहमतिमा विधेयक अघि बढाउने सहमति भएको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

बैठकले आन्दोलनकारीको ११ बुँदे मागबारे सत्ता र प्रतिपक्ष दुबैले मधेसी मोर्चासँग छलफल गर्ने र फेरि बैठक बसेर साझा धारणा बनाउने निर्णय गरेको छ । साथै आन्दोलन शान्तिपूर्णरुपमा गर्न आग्रह गरेको छ ।

प्रमुख दलहरुको बैठकले संविधानले जनतालाई दिएको अधिकारबारे जानकारी गराउन संयुक्त र पार्टीगत रुपमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।