बेलहिया नाकाबाट इन्धन आउन सुरु

कार्तिक २३, लुम्बिनी (रुपन्देही) – विगत आठ दिनदेखि ठप्प रुपन्देहीको बेलहिया नाकाबाट आइतबार राति केही मात्रामा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।

गत १६ गतेदेखि इन्धनलगायतका साधन नेपाल प्रवेशमा रोक लगाएको भारतीय पक्षले पाँचवटा पेट्रोल र तीनवटा डिजेलका गाडी र दुईवटा एलपी ग्यासका बुलेट बेलहिया नाकाबाट नेपाल पठाएको छ ।

आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु आफ्ना जायज माग पूरा गराउन संसद् बैठकमा प्रवेश गरेसँगै भारतसँग सीमा जोडिएका विभिन्न नाकाबाट इन्धनलगायतका सामान नेपाल भित्रिएका छन् ।

आज बिहानैदेखि अन्य मालबाहक ट्रक धमाधम बेलहिया नाकाबाट नेपाल आइरहेको रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिनुभयो । उहाँले आज पनि इन्धनका गाडी नेपाल आउने सम्भावना रहेको बताउनुभयो ।

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै भारततर्फबाट कुनै पनि इन्धनका गाडी नेपाल पठाउन नमानेपछि बजारमा इन्धन एवम् ग्यासको हाहाकार भएको छ