काठमाडौं उपत्यकासहित देशभर वर्षा, चिसो बढ्यो

कार्तिक १२, काठमाडौँ – काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । मौसमविद वरुण पौडेलका अनुसार आज मध्य र पश्चिमका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको ।

पश्चिमी वायुसँगै अरब सागरमा न्यूनचापिय क्षेत्र विकास भएकाले देशभरको मौसम बदली भएको हो । अरब सागरमा विकसित न्यूनचापिय क्षेत्र विस्तारै पूर्वतर्फ सर्दै गरेकाले पूर्वमा पनि झरी पर्ने मौसमविद पौडेलले बताए ।
उनका अनुसार बिहीबार दिउँसोपख केहीबेर रोकिएपनि फेरि झरी पर्ने सम्भावना छ । केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने अनुमान गरिएको छ । यस्तै हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ ।
देशभर परेको झरी र हिमाली क्षेमा हिउँ पर्ने भएकाले जाडो बढ्न सक्ने मौसमविद पौडेलको भनाई छ । देशभर बदलीएको मौसममा शुक्रबारदेखि केही सुधार हुने मौसविदले बताएका छन् ।