कोइरालाको उम्मेदवारी प्रजातन्त्रको सुन्दर अभ्यासः देउवा

असोज २४ , काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशील कोइरालाको उम्मेदवारी ‘प्रजातन्त्रको सुन्दर अभ्यास’ भएको बताएका छन् । कोइरालाको उम्मेदवारीले राष्ट्रिय एकता र सहमतिको वातावरण नबिगि्रने उनले दावी गरे ।

‘यो प्रजातान्त्रिक अभ्यास हो र यसलाई सामान्य रुपमा लिनुपर्छ । यो अभ्यासबाट नेपाल बलियो हुन्छ ।’ प्रधानमन्त्रीको उम्मेदवारीमा सुशील कोइरालालाई प्रस्ताव गर्दै देउवाले भने । उनले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरेता पनि राष्ट्रिय समस्याहरुमा सारा देश एक हुने बताए ।
संविधान जसले जारी गर्‍यो, उसैले कार्यान्वयन गर्नुपर्ने तर्क गर्दै देउवाले कोइरालाको उम्मेदवारी जायज रहेको दाबी गरे । नेपाली कांग्रेसले ००७ सालको क्रान्ति, ०४६ सालको आन्दोलन र ०६२-०६३ को आन्दोलनको सफल नेतृत्व गरेको भन्दै उनले पार्टीका लागि यो गौरवको विषय भएको उल्लेख गरे ।
‘यसैको निरन्तरता हो, अहिले जारी भएको संविधान पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ,’ उनले भने । उनले एमालेको समेत सहभागिता रहेको मन्त्रिपरिषदले संविधान संशोधन प्रस्ताव पास गरिसकेको भन्दै यसलाई तत्कालै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।