चीनबाट ग्यास ल्याउने उद्योगीको प्रस्ताव

असोज २२ , काठमाडौं – ग्यास उद्योगीले खासाबाट ३० किलोमिटर चीनतर्फको दूरीको नालमबाट ग्यास ल्याउन सक्ने प्रस्ताव गरेका छन् । उद्योगीले वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापालाई बुधबार भेटेर चीनबाट तत्कालै ग्यास ल्याएर उपत्यकामा वितरण गर्न सक्ने कार्ययोजना पेस गरेका हुन् ।

चीनको नालमबाट ग्यास ल्याउनेबारे विस्तृत अध्ययन नै सम्पन्न गरिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए । सरकारले अनुमति दिए पाँच दिनमै उपत्यकामा ४० देखि ४५ हजार सिलिन्डर उतार्न सक्ने व्यवसायीले दाबी गरेका छन् ।
‘चीनको नालमबाट प्रत्येक साता ४० देखि ४५ हजार सिलिन्डर ग्यास ल्याउनेबारे हामीले अध्ययन गरेका छौँ,’ ग्यास उद्योग संघका अध्यक्ष घिमिरेले भने, ‘सरकारले अनुमति दिए पाँच दिनमै भरिएका ग्यास सिलिन्डर उपत्यका ल्याएर उपभोक्तालाई वितरण गर्न सक्छौँ ।’
व्यवसायीले प्रस्ताव राखेपछि मन्त्री थापाले आवश्यक छलफल गरेर खबर गर्ने जवाफ दिएका थिए । ‘मन्त्रीज्यूले छलफल गरेर खबर गर्छु भन्नुभएको छ,’ घिमिरेले भने ।
मुलुकभर दैनिक करिब ५० हजार सिलिन्डर खपत हुने गरेको छ । उद्योगीले चीनबाट हप्तामा करिब ५० हजार सिलिन्डर आयात गर्दा आपूर्तिमा सहज हुने दाबी गरेका छन् ।
सुदूरपश्चिम र पूर्वमा ग्यास आइरहेको र तराईमा दाउरा, भुसेचुलोलगायतका माध्यमबाट खाना पकाउन सकिन्छ । तर, उपत्यकामा ठूलो समस्या पर्न सक्नेतर्फ सरकार चाँडै सजग हुनुपर्ने उद्योगीले बताएका छन् । चीनबाट ग्यास ल्याएर उपत्यकामा बिक्री गर्दा ठूलो राहत हुने उद्योगीको दाबी छ ।
चीनमा हाल १२ किलोको ग्यास सिलिन्डर मात्रै छन् । त्यसैले नेपालबाटै १४ किलोको सिलिन्डरमा ग्यास भर्ने उपकरण लिएर जानुपर्छ । सरकारले अनुमति दिए नालमस्थित चिनियाँ ग्यास उद्योगसँग कुरा गरेर आयात सुरु गर्न सबै उद्योगी तयार रहेको घिमिरेले दाबी गरे ।
‘सरकारले चीनबाट ग्यास ल्याउन अनुमति दिने र नेपाली गाडी चीन प्रवेशका लागि महावाणिज्यदूतले पत्र लेखिदिए पुग्छ । त्यसपछि ग्यास ल्याउन समस्या हुँदैन,’ उनले भने । काठमाडौंबाट चीन पुगेर दुई दिनमा ग्यास ल्याउन सकिने उनले बताए ।
हाल भारतबाट बुलेटमा ग्यास उतार्न र उद्योगमा सिलिन्डर भरेर बजारमा पठाउन झन्डै एक दिन लाग्छ । चीनबाट भने भरिएका सिलिन्डर ल्याउने भएका कारण सोझै बजार पठाउन सकिने उद्योगीले बताएका छन् ।
चीनमा प्रतिकेजी ग्यासको मूल्य ५.५ युआन पर्छ । ग्यास खरिद, ढुवानी, प्लान्ट प्रयोग गरेबापतको भाडालगायत जोड्दा हालको प्रतिसिलिन्डर ग्यास मूल्य एक हजार चार सय रुपैयाँभन्दा करिब पाँच सय रुपैयाँ प्रतिसिलिन्डर महँगो पर्ने उद्योगीको अनुमान छ । नयाँ पत्रिकाले छापेको छ ।