महाधिवेसन समयमा नहुँदा कांग्रेसलाई अप्ठ्यारो, दलहरुको बैठक बस्दै

भदौ १४,काठमाडौँ – नेपाली कांग्रेसकोे महाधिवेसनका विषयमा परेको अप्ठ्यारो फुकाउन आज प्रमुखदलबीच छलफल हुने भएको छ । दलहरुबीच अन्तरिम संविधान संशोधन भयो भने ६ महिनाभित्र महाधिवेशन गर्ने गरी नयाँ मिति तय हुने जनाइएको छ । महाधिवेशनबारे निर्णय गर्न कांग्रेसले भोलि केन्द्रीय समिति बैठक राखेको छ । अन्तरिम संविधान संशोधनका लागि सदनमा दुई तिहाइ बहुमत चाहिन्छ ।

नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाले आज दलहरुबीच छलफल हुने र त्यस आधारमा भोलि पार्टीले निणर्य गर्ने बताउनुभयो । संविधानतः प्रत्येक ५ वर्ष्भित्र राजनीतिक दलहरूले महाधिवेशन गरिसक्नुपर्ने भए पनि नयाँ संविधानको मस्यौदामा विशेष कारण भए ६ महिना थप गर्न सकिने व्यवस्था गरिएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको म्याद असोज ५ गतेसम्म छ । नयाँ संविधान बन्ने ग्यारेन्टी नभएकाले कांग्रेसले अन्तरिम संविधान संशोधनको विकल्प खोजेको हो ।

तोकिएको समयमा महाधिवेसन सम्भव नहुने भएपछि कांग्रेसले पार्टीको विधान पनि संसोधन गर्ने तयारी गरेको छ । कांग्रेसले भदौ १७ गते गाउँ अधिवेशन शुरु गरेर असोज २ गतेदेखि १३ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको थियो । संविधान निर्माणलाई लाई कारण देखाउँदै यसअघि दुई पटक गाउँ, क्षेत्र र जिल्ला अधिवेशन सारेको कांग्रेसले केन्द्रीय महाधिवेशनको पहिलो मिति भदौ २४ देखि गर्ने निर्णय गरेको थियो ।