साउन मसान्तमा संविधान नआउने सम्भावना प्रवल

साउन २३, काठमाण्डौ-सीमांकनका विषयमा कुरा नमिल्दा दलहरुले भनेको साउन मसान्तमा संविधान नआउने भएको छ । दलहरुले भदौ दोस्रो हप्तामा संविधान ल्याउने गरि आन्तरिक तयारी गरेका छन् । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीमांकन सहितका अरु विषयमा पनि टुङ्गो लागि नसकेकाले संविधान साउन सम्भव नभएको बताउनुभयो । उहाँले धर्म निरपेक्षता, नागरिकताका विषयमा पनि अझै टुङ्गोमा पुगि नसकेको बताउनुभयो । श्रेष्ठले सीमांकनको विवादले झन जटिलता थपिदिएको बताउनुभयो । संघीय संख्यामा सहमति भइसकेकाले विभिन्न पक्षबाट आएका सुझाव, आग्रह, दलीय अडानका आधारमा समस्या समाधान गर्ने श्रेष्ठको भनाई छ । उहाँले बिहान शीर्ष तहमा छलफल गरेपछि दिउँसो १ बजे संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बसेर छलफल गर्ने बताउनुभयो । हिजो प्रमुख दलका शीर्ष नेता बिहान ९ बजेदेखि राति अबेरसम्म पनि सीमांकनकै विषयमा छलफलमा केन्द्रित थिए । तर पनि सहमति हुन सकेन। छलफलमै सहभागी उच्च स्रोतका अनुसार सीमांकन धकेल्ने ’षड्यन्त्र’ स्वरूप विभिन्न विकल्प ल्याइएको छ । पहिले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा देखिएको विवाद अहिले सिरहा, लुम्बिनी, रोल्पा, रुकुम जिल्लाका हकमा देखिएको छ ।