धार्मिक स्वतन्त्रताको पक्षमा शेरबहादुर

साउन ११, काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले नयाँ संविधानमा धर्मनिरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल तरुण दलले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता देउवाले नयाँ संविधानको मस्यौदामाथि अधिकाँश जनताले सुझाव दिँदा धार्मिक स्वतन्त्रता राख्न सुझाव दिएकाले धर्म निरपेक्षताको सट्टामा धार्मिक स्वतन्त्रता राख्नुपर्ने उनले तर्क थियो ।

मस्यौदामा धेरै संशोधन गर्नुपर्ने बुँदाहरु भएकाले जनताको भावना र सुझावअनुसार संशोधन गर्न हिच्किचाउन नहुनेमा उनको भनाइ थियो । काँग्रेसको मूलमर्म लोकतान्त्रिक समाजवाद भएपनि मस्यौदामा लोकतान्त्रिक समाजवादको भावना नसमेटिएको नेता देउवाले बताए ।

कार्यक्रममा काँग्रेस महामन्त्री तथा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक समाजवाद शब्द नै खोज्ने भन्दा पनि भावना खोज्नुपर्ने तर्क गरे । उनले संविधानसभामा रहेका सबै दलको भावना समेट्न खोज्दा संविधानको मस्यौदा भद्धा भएको स्वीकार गर्दै कुनै एउटा पार्टीले चाहेजस्तो संविधान बन्न नसक्ने उल्लेख गरे ।

काँग्रेसले भनेजस्ता शब्द मस्यौदामा नभएपनि संविधान लोकतान्त्रिक नै रहेको उनले दावी गरे । काँग्रेसका अर्का नेता तथा तरुण दलका पूर्वअध्यक्ष वालकृष्ण खाँडले लोकतन्त्रका आधारभूत मर्मबाट काँग्रेस पछाडि हट्न नहुनेमा जोड दिए ।