नागरिकका सुझाव समेट्न दलहरु छलफलमा, प्रमुख सचेतकलाई जिम्मा

साउन ११, काठमाडौ – संविधानको पहिलो मस्यौदामा जनताले दिएका मुख्य विषय समेटेर संविधान जारी गर्न प्रमुख दल सहमत भएका छन् ।

आज पनि दलहरुले छलफल गर्ने भएका छन् । सुझाव संकलनका क्रममा उठेका मुद्दाको प्राथमिकता निर्धारण गर्न प्रमुख सचेतकलाई जिम्मा दिएका छन् । त्यसपछि शीर्ष नेताहरूले जनताका कुन–कुन सुझाव कसरी सम्बोधन गर्ने निधो गर्नेछन् ।
जनतासँग सुझाव संकलनका क्रममा महत्त्वपूर्ण सुझाव आएपछि दलहरू त्यसलाई सम्बोधन गर्न संवेदनशील बनेका हुन् । संविधानको मस्यौदामा कतिपय छुटेका विषय समेट्न, अधुरा विषय पूरा गर्न र भएका त्रुटी सच्याउन दलले आन्तरिक गृहकार्य गरिरहेका छन् ।
जनताबाट आएको सुझाव चार दलका प्रमुख सचेतकहरुले अध्ययन गरेपछि शीर्ष नेताको बैठकले थप निर्णय गर्ने सहमति भएको र आजदेखि त्यस अनुसारको गृहकार्य गरिने एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।
दलहरुबीच धार्मिक स्वतन्त्रताबाहेक अरु विषय १६ बुँदे सहमति अनुसार नै अघि बढ्ने तयारी गरेका छन् । धर्म निरपेक्षताका विषयमा दबाब परेपछि धार्मिक स्वतन्त्रता राखेर अघि बढ्नेमा दलहरु सहमति नजिक छन् ।