नागरिकका सुझावसहितको प्रतिवेदन आज सभाध्यक्षलाई बुझाइँदै

साउन ११, काठमाडौ – संविधानको मस्यौदामा जनताले दिएका रायसुझावसहितको एकीकृत प्रतिवेदन आज बुझाइने भएको छ ।

नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमक्ष प्रतिवेदन बुझाउने भएको छ । पचहत्तरै जिल्लामा खटिएका सभासद्सहितको टोलीले जनताका सुझावसहितको प्रतिवेदन समितिलाई बुझाइसकेको छ ।
ती सबैलाई एकीकृत गरी समितिले आज रातिसम्ममा अन्तिम प्रतिवेदन तयार गर्नेछ । भोलि बस्ने संविधानसभाको बैठकमा जनताको सुझावसहितको प्रतिवेदन पेस गर्ने तयारी छ ।
त्यसपछि त्यो प्रतिवेदनमा छलफल गरी परिमार्जनको आधार तयार गर्न डा बाबुराम भट्टराई अध्यक्ष रहेको राजनीतिक, संवैधानिक तथा सम्वाद समितिमा पठाइनेछ ।
छोटो समयमा समितिले छलफल टुंग्याएर संविधानसभामा पेस गर्नुपर्नेछ । त्यसलाई संविधानसभाले मस्यौदा समितिमा पठाउने छ । जनताबाट आएको सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि मस्यौदा समितिले पहिले तयार भएको मस्यौदामा परिमार्जन तथा सुधार गरी नयाँ संविधानको विधेयक तयार गर्नेछ ।
त्यसलाई फेरि संविधानसभामा पेस गरिनेछ । यी सबै प्रकिया र काम पुरा गरेर साउन मसान्तभित्रै संविधान जारी गर्नका आन्तरिक रुपमा कार्यतालिका तयार भएको छ । साउन ३२ गते संविधान जारी गर्ने तयारी छ ।