संविधान मस्यौदामा सुझावको ओइरो

असार ३१, काठमाडौँ – संविधानको पहिलो प्रारम्भिक मस्यौदामा जनताको सुझाव संकलन गर्न सभासदहरू निर्वाचन क्षेत्र नपुग्दै सिंहदरबारमा सुझावको ओहिरो लाग्न सुरु भएको छ ।

संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमका अनुसार बुधबारसम्म सचिवालयको वेबसाइटबाट संविधानको मस्यौदा डाउनलोड गरी प्रतिक्रिया जनाउनेको संख्या १ हजार ४ सय नाघेको छ । त्यसैगरी इमेलबाट १ हजारभन्दा धेरै र टेलिफोन गरी ८ सयभन्दा बढीले सुझाव दिएका छन् ।
ती सुझावको तालिकीकरण, विश्लेषण र प्रतिवेदन तयारीमा कानुन मन्त्रालयबाट काजमा खटिएका कर्मचारीको टोलीले संविधानसभा सचिवालयमा बसेर काम सुरु गरेको छ । उनीहरूले प्राप्त सुझावलाई सहमति र विमतिका रूपमा वर्गीकरणका अतिरिक्त मस्यौदाको कुन भागका लागि कस्ता सुझाव प्राप्त छन् भने तालिका बनाउने छन् ।
सरकारको वार्षिक नीति तथा कार्यक्रमपछि बजेट छलफलमा व्यस्त रहेका सभासदहरू असार मसान्तसम्ममा पेस्की विधेयक पारित गरेलगत्तै निर्वाचन क्षेत्र खटिने तयारीमा छन् ।
देशका २ सय ४० निर्वाचन क्षेत्रमा साउन ४ र ५ मा हुने सार्वजनिक सुनुवाइलगायत कार्यक्रमका लागि संविधानसभा सचिवालयका कर्मचारीहरू कार्यक्षेत्रमा खटिइसकेका छन् ।
बजेटको प्रक्रिया सकेर सभासद नआउँदासम्म उनीहरूले गाउँ तहसम्म मस्यौदा पुर्‍याउने, स्थानीयस्तरमा प्राप्त सुझाव एकीकृत गर्ने, साउन ४ र ५ को सार्वजनिक सुनुवाइका लागि राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिलाई आमन्त्रण गर्नेलगायत कार्य गर्नेछन् । आजकोकान्तिपुर दैनिकमा समाचार छ ।