विश्वकप टी–२० क्रिकेटका छनोट खेलहरु आजदेखि सुरु

असार २४, काठमाडौं – भारतमा अर्को वर्ष आयोजना हुने विश्वकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको लागि छनोट खेलहरु विहीबार (आज) देखि आयरल्यान्ड र स्कटल्यान्डमा संयुक्तरुपले हुँदैछन् ।

१४ टोलीले सहभागिता जनाउने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ । नेपालको समूहमा अमेरिकासँगै आयोजक आयरल्यान्ड, पपुवा न्युगिनी, नामिबिया, हङकङ र जर्सी रहेका छन् ।

प्रतियोगिताको समूह ‘बी’मा स्कटल्यान्ड, नेदरल्यान्ड्स, क्यानाडा, अफगानिस्तान, युएई, केन्या र ओमान छन् ।

प्रतियोगिताबाट कुल ६ ओटा टोलीहरु अर्को वर्ष हुने विश्वकप टी–२० का लागि छानिने छन् । दुबै समूहका विजेता सोझै विश्वकपमा छानिने छन् भने दोस्रोदेखि चौथो हुने टोलीले ‘प्ले अफ’ खेल्ने अवसर पाउनेछन् । यी प्ले अफ खेलहरुबाट विश्वकपमा छानिने थप चार टोलीको टुंगो लाग्नेछ ।

विश्वकप छनोटको यो संस्करणमा पनि साविक विजेता आयरल्यान्डलाई मुख्य दाबेदार मानिएको छ । सन् २०१२ र २०१३ को उपाधि विजेता टोली आयरल्यान्ड यसपटक पनि उत्कृष्ट लयमा छ ।

अर्को आयोजक राष्ट्र स्कटल्यान्डसँगै अफगानिस्तान र नेदरल्यान्ड्स पनि दाबेदार हुन् । यसपटक नेपाल, हङकङ र युएईले पनि प्ले अफमा ठाँउ बनाउने धेरैको अनुमान छ ।

आयरल्यान्ड र स्कटल्यान्डमा पछिल्लो केही सयम मौसम बदली भइरहेकाले यो प्रतियोगितामा अनपेक्षित नतिजा आउनसक्ने धेरैको अनुमान छ ।

युरोपेली क्रिकेट ‘पिच’ तीव्र गतिका बलरहरुको लागि अनुकुल हुने हुनाले सोमपाल कामी र करण केसीको प्रदर्शनबाट नेपालको भविष्य बढी निर्भर हुनेछ ।