प्रधानमन्त्री कोइरालाले भने–अब आधुनिक नेपाल बन्छ

असार ८, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले आधुनिक र विकसित नेपाल बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सो विश्वास मंगलबार बिहान भूकम्प पीडितहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आएको कान्तिपुर मिडिया ग्रुपको टोलीसंग व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो,“ हिजोका कमी कमजोरीलाई हटाएर आधुनिक नेपाल बनाउन भनेर लागेको छु । म यसमा प्रतिबद्ध छु । आधुनिक नेपाल बन्छ । हामी अभियानमा सफल हुनेछौ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल संविधानको साथसाथै पुनर्निर्माणको मार्गमा पनि हिडिरहेको बताउनु भयो ।
उहाँले हालैको भूकम्पमा भएको खोजी,उद्धार,राहत र पुनस्थापनाका प्रयासहरुको विदेशीहरुले सराहना गरेको बताउनुभयो । आफूलाई भेट्न आएका कुटनीतिक नियोगका प्रमुख र विदेशी प्रतिनिधिमण्डलका नेताहरुलाई उघृत गर्दै उहाँले सीमित स्रोत, साधन, जनशक्तिका बावजूद पनि नेपालमा भूकम्प पछिका खोजी,उद्धार,राहत र पुनस्थापनाका कार्य प्रभावकारी रुपमा भएको बताउनु भयो ।
उहाँले नेपालमा लोकतन्त्र,शान्ति,स्थायित्व र विकासका अभावमा संस्थाहरुको विकास नै हुन नपाएको उल्लेख गर्नुभयो । “झण्डै एक शताब्दी त हामीले लोकतान्त्रिक शासन पद्धतिको स्थापना र पुनस्थापनाको संघर्षमा नै वितायौं,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“हामीले विकासको त मुखै देख्न पाएनौ । लोकतान्त्रिक व्यवस्थाले मात्र स्थायित्व पाएको हुन्थ्यो भने यो मुलुक कहाँ पुगी सक्ने थियो ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण पछि मुलुक राजनीतिक स्थायित्व र शान्तिको मार्गमा पुग्ने भएकोले विकासले गति लिने पनि बताउनु भयो । उहाँले प्रकृतिले दिएका स्रोतहरुको उपयोग गरेर नै नेपाल समृद्ध बन्ने बताउनु भयो । उहाँले भन्नुभयो,“ म नेपालको भविष्यप्रति अत्यन्तै आशावादी छु । मुलुक अब अगाडि बढ्यो ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा लोकतन्त्रको स्थायित्व र विकाससंग सञ्चार जगतको पनि भविष्य पनि आबद्ध भएको बताउनु भयो । उहाँले लोकतन्त्रको स्थापना र पुनस्थापनाको आन्दोलनमा सधै साथसाथै रहेको सञ्चार क्षेत्रले संविधान निर्माण गरी संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने संविधान निर्माणमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संविधान आएपछि नेपालमा नै विकासले गति लिने भएकोले विदेशिएका नेपालीहरुलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने बताउनु भयो ।
कान्तिपुरले दियो ४ करोड ४३ लाख
भूकम्प पीडित नेपालीहरुको सहयोगको लागि कान्तिपुर मिडिया ग्रुपका तर्फबाट कान्तिपुर फाउण्डेशनले सञ्चालन गरेको खातामा जम्मा भएको रकम आज ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गर्नुभएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कान्तिपुर मिडिया ग्रुप र कान्तिपुर फाउण्डेशनका अध्यक्ष सिरोहियाले प्रधानमन्त्री सुशील कोइरालालाई ४ करोड ४३ लाख ५१ हजार ३ सय १०रुपैया ६ पैसाको चेक हस्तान्तरण गर्नु भएको हो ।
गत बैशाख १२ गते भूकम्प गएपछि भूकम्प पीडितहरुको सहयोगार्थ कान्तिपुर मिडिया ग्रुपले सुरुमा सेञ्चुरी बैंकसंग र पछि अन्य बैकहरुसंगको सहकार्यमा बैंक खाता खोली रकम संकलन गरेको थियो । “खातामा हामीले १० लाख रुपैया राख्यौ र अरुलाई सहयोग गर्न अपील ग¥यौ” कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहियाले भन्नुभयो,“ यसमा रु १ सय देखि ५० लाख दिने दाताहरु समेतको रकम संकलन भएको छ ।”
सो अवसरमा अध्यक्ष सिरोहियाले सो रकम आवश्यकता परेका भूकम्प पीडितहरुको राहत र पुनस्थापनामा सदुपयोग होस् भन्ने विचार व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाल राहत रकम र सामग्रीको सदुपयोग होस भन्नेमा सरकार अत्यन्त सजग रहेको उल्लेख गर्दै भन्नुभयो ,“ म राहत रकम र सामग्रीको दुरुपयोग हुन दिन्न।मैले यो कुरा क्याविनेटमा पनि उठाएको छु । गल्ती गर्ने परेका छन् । कति कुरा अख्तियारमा पनि पुगेको छ ” ”।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपदाको घडीमा सहयोग जुटाउनु भएकोमा कान्तिपुर मिडिया ग्रुप कान्तिपुर फाउण्डेशन ,सेञ्चुरी बैक र अन्य दाताहरुलाई धन्यवाद दिनुभएको थियो ।
सो कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजाल, कान्तिपुरका प्रधान सम्पादक सुधीर शर्मा ,द काठमाण्डू पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यय, सेञ्चुरी बैक, सनराइज बैकका पदाधिकारीहरुका साथै कान्तिपुर मिडिया ग्रुपका विभिन्न पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
खेलकूद पत्रकारले दिए ५ हजार डलर
भूकम्प पीडित नेपालीहरुको सहयोगको निमित्त नेपालका खेलकुद पत्रकारहरुको संगठन खेलकूद पत्रकार मञ्च नेपालले ५ हजार डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
सो रकमको चेक संघले मंगलबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको छ ।
नेपालका भूकम्प पीडितहरुको सहयोगको निमित्त खेलकूद पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेशनल स्पोर्ट प्रेस एशोसियसनले पठाएको रकम बाट सो सहयोग गरिएको हो । यस मध्येको केही रकम भूकम्पमा परी दिवंगत हुनुभएको सुमन बोम्जनको परिवारलाई दिइएको छ भने केही रकम भूकम्प पीडित पत्रकारहरुको सहयोगमा खर्च भएको जनाइएको छ ।