पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन सरकारी सक्रियता

असार ३,काठमाडौँ – विनाशकारी भूकम्पका कारण नेपाल आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेपछि सरकारले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारको अभियान सुरु गरेको छ ।

सरकारले पर्यटकलाई नेपाल भ्रमणका लागि विश्वास दिलाउन पहिलो कार्यक्रमअन्तर्गत भूकम्पबाट क्षतिग्रस्त प्रमुख पर्यटकीय गन्तव्य स्थलको प्रवेश गत जेठ ३२ गतेदेखि नै पुनः खुला गरिसकेको छ ।
भ्रमण गर्न डराइरहेका पर्यटकलाई नेपालमा भूकम्पपछि पनि विमानस्थल, प्रमुख पर्यटकीय गन्तव्यस्थल, ठूला होटल, पैदल मार्ग सुरक्षित छन् भनेर विभिन्न माध्यममार्फत सरकारले प्रचारप्रसार अभियानलाई तीव्र बनाएको पर्यटन विभागले जनाएको छ ।
भूकम्पले क्षति पु¥याएको पर्यटन क्षेत्रलाई पुनःरुत्थान गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढिरहेको विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो ।
“भूकम्पले धेरै संरचना बिग्रेका थिए, अब दुरुस्त भइसके, हाम्रा हिमाल, पहाड, पर्यटकीय पदमार्ग दुरुस्त छन् भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरसम्म पु¥याइरहेका छौँ ।” महानिर्देशक गौतमले भन्नुभयो ।
स्थल र हवाई मार्गबाट नेपालमा वार्षिक आठ लाख पर्यटक घुम्न आउँछन् । नेपाल आउने पर्यटकको सरदर बसाइँ १२ दिनको छ । प्रतिपर्यटकले दैनिक ४७ अमेरिकी डलर खर्च गर्ने गरेको विभागको तथ्याङ्क छ ।
नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय पत्रकारलाई नेपाल भ्रमण गराएर एवम् विदेशस्थित नेपाली दूतावास, भूगर्भविद् र सेलिबे्रटीमार्फत मुलुकको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश फैलाउने कार्यमा लागिरहेको बताएको छ ।
सरकारी र निजी क्षेत्रसँग समन्वय गरेर पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन बोर्डले बृहत्तररुपमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारको काम गरिरहेको बोर्डका प्रशासकीय प्रमुख रमेशकुमार अधिकारीले जानकारी दिनुभयो ।
“पोखरा र चितवनका होटल व्यवसायीले ५० प्रतिशत छुटको प्याकेज ल्याए जस्तै काठमाडौँमा पनि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरसँग मिलेर यही असार ६ गते विशेष कार्यक्रम गर्दैछाँै ।” प्रशासकीय प्रमुख अधिकारीले भन्नुभयो ।
भूकम्पबाट बढी प्रभावित पर्यटन क्षेत्रलाई उकास्ने उद्देश्यले गत आइतबारको मन्त्रिपरिषद्को बैठकले पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाको अध्यक्षतामा ‘राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति’ गठन गरिसकेको छ ।
पर्यटनको प्रमुख आधारमध्येको होटलमा भूकम्पले क्षति पु¥याएको सम्बन्धमा द्रुत लेखाजोखा मूल्याङ्कन गर्न सरकारले पर्यटन विभाग र सहरी विकास तथा भवन निर्माण विभागको समन्वयमा प्राविधिक टोली गठन गरेको छ ।
टोलीले हालसम्म उपत्यकाका ६८ ठूला होटलका ९७ भवन निरीक्षण गरी दुई होटलमा मात्र हाल बस्न नमिल्ने गरी ठूलो क्षति भएको जनाएको छ । टोलीका संयोजक इञ्जिनियर कोषनाथ अधिकारीले ९० प्रतिशतभन्दा बढी ठूला होटल सुरक्षित रहेको बताउनुभयो ।
बढी क्षतिग्रस्त नयाँ बानेश्वरको होटल एभरेस्ट र ठमेलको होटल नोर्बु लिङ्कमा भूकम्पबाट संरचनागत क्षति भएकाले टोलीले रातो स्टिकर टाँसेको छ । केही होटलमा भित्ता चर्केकाले सामान्य मर्मत गरी बस्न मिल्ने जनाएको छ भने बाँकी होटल सुरक्षित भनी हरियो स्टिकर लगाएको छ ।
राजधानीका अधिकांश ठूला होटल नक्सा मापदण्डअनुसार प्राविधिकको निगरानीमै निर्माण भएकाले भूकम्पबाट कम क्षति भएको इन्जिनियर अधिकारीको भनाइ छ ।
टोलीले निरीक्षणपछि सुरक्षित होटलमा हरियो स्टिकर टाँसेपछि सो स्टिकरका आधारमा पर्यटक ढुक्क भएर बस्न थालेको ठमेलस्थित होटल मस्र्याङ्दीका निर्देशक गणेशराज रेग्मीले बताउनुभयो ।
“हरियो स्टिकरले ग्राहकलाई ढुक्क भएर बस्ने आधार बनायो, यसले हामी कर्मचारी तथा व्यवस्थापन पक्षको समेत आत्मविश्वास बढेको छ ।” निर्देशक रेग्मीले भन्नुभयो । अन्तर्राष्ट्रिय पर्यटकको आगमन हुन नसकेका बेला आन्तरिक पर्यटनलाई बढावा दिएर भए पनि सरकारले पर्यटन क्षेत्रलाई जोगाउनुपर्ने रेग्मीको धारणा छ ।
विभागको होटल शाखाका अनुसार नेपालमा १० वटा पाँचतारे, दुई वटा चारतारे, ३१ वटा तीनतारे, ४८ वटा दुईतारे, ३५ वटा एकतारे र ४३० वटा पर्यटकस्तरीय होटल रहेका छन् ।