सरकारले भूकम्प पीडितको लागि अस्थायी आवास निर्माण गर्न रकम वितरण सुरु

जेठ १३,काठमाडौं – सरकारले भूकम्प पीडितको लागि अस्थायी आवास निर्माण गर्न रकम वितरण सुरु गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विपत् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले काठमाडौं र ललितपुरमा हिजोदेखि रकम वितरण सुरु गरिएको र अरु प्रभावित ठाउँमा आजदेखि वितरण गर्ने जानकारी दिनुभयो ।

विभिन्न जिल्लामा राजनीतिक सहमति हुन नसक्दा रकम वितरणमा समस्या भएको उहाँको भनाई छ । उहाँले बैकल्पिक बासस्थान भएकालाई अहिले राहत रकम नदिने बताउनुभयो । सरकारले राहत रकम वितरणमा अनियमितता नहोस् भनेर परिचयपत्र दिने तयारी पनि गरेको छ । त्यसको लागि पीडितले परिचय पत्रको लागि निवेदन दिनुपर्नेछ ।
बिहीबारसम्म सबै जिल्लामा राहत रकम वितरण गर्ने तयारी भैरहेको दंगालले बताउनुभयो । उहाँका अनुसार राहत रकम वितरण र परिचय पत्र वितरणको प्रक्रिया सँगसँगै अघि बढाइनेछ । योसँगै अरु गैरसरकारी संस्थाले पनि भूकम्प पीडितलाई सहयोग गरिरहेकाले पहुँच नभएका र दुर्गम जिल्लामा पनि जान सरकारले सबैलाई आग्रह गरेको छ । दुर्गममा राहत नपुगेको सुगममा धेरै पुगेको गुनासो आएपछि सरकारले सबैलाई सहयोगी हात बढाउन आग्रह गरेको हो ।