‘जनताको काम गर्दा रुखो वचन नबोल्नू’- केपी ओली

जेठ १०, काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावितको पुनस्र्थापनामा खटिएका स्वयंसेवी कार्यकर्तालाई जनतासँग रुखो नबोल्न निर्देशन दिएका छन् ।
भृकुटीमण्डपमा एमालेका स्वयंसेवक नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको काम गर्दा रुखो वचन नबोल्नू,’ उनले भने, ‘तपाईंहरु फकंर्दा जनताले आफ्नै छोरानातिसँग बिदा भएको महसुस गरुन्, उनीहरुको आँशु झरोस् ।’
उनले भने, ‘तपाईंहरु जनताको सेवा गर्न जानुभएको हो, पाहुना बनेर मेजमानी खान होइन ।’
ओलीले एमाले कर्मी मौरी भएको टिप्पणी गर्दै स्वयंसेवी कार्यकर्तालाई आफ्नो स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर उदाहरणीय कार्य गर्न पनि आग्रह गरे ।
कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले प्रत्येक नेता र कार्यकर्ताको कामको आधारमा मूल्यांकन हुने बताए ।
स्वयंसेवकका मुल कमाण्डर एमाले सचिव गोकर्ण विष्टले पार्टीगतरुपमा कसैलाई भेदभाव नगरी पुनस्र्थापनामा सहयोग गर्ने बताए । स्वयंसेवकले एक महिना काम गर्ने पार्टीले जनाएको छ ।