राष्ट्रिय सहमतिको सरकार गठन गर्न चार दल सहमत

जेठ ८, काठमाडौँ –मुलुकमा विनाशकारी भूकम्पले प्रमुख चार राजनीतिक दलहरुलाई एकठाउँमा उभ्याइदिएको छ । शोकलाई शक्तिमा बदलेर राष्ट्र उन्नतिको काम गर्ने हो भने यो अवसर पनि रहेकाले दलहरु संविधान निर्माण, हालैको विपत्तविरुद्ध लड्न र मुलुकलाई पुनः निर्माण गर्ने ऐतिहासिक कार्यभार प्रभावकारी रुपमा सम्पन्न गर्न प्रमुख चार राजनीतिक दलबीच सहमति भएको छ ।

बिहिबार साँझ नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको बिहिबार प्रधानमन्त्री निवासमा भएको बैठकमा सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्ने, विपत्को सामना गर्ने र संविधान निर्माण गर्नेमा सहमति भएको हो ।

बैठकपछि नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बैठकमा विपद्विरुद्ध लड्न राष्ट्रिय कार्ययोजना बनाउने तथा सिङ्गो राष्ट्रलाई एक ढिक्का बनाउन सबै राजनीतिक दलको सामूहिक सङ्कल्पको आवश्यकतामा जोड दिइएको र भूकम्पपीडितलाई अस्थायी बसोबास तथा राहतका सबै कार्यक्रम वर्षायाम अगावै पूरा गर्नेमा सबैको सहमति रहेको उहाँले बताउनुभयो ।

बैठकपछि बाहिरिनुभएका नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले गत वैशाख १२ गते भएको विनाशकारी भूकम्पपछि व्यवस्थापिका संसदले पारित गरेको शङ्कल्प प्रस्तावलाई प्रभावकारी रुपमा कसरी कार्यान्वयन गर्न सकिन्छ र भूईचालोले क्षतविक्षत रहेको जमिनमा वर्षायाममा हुन सक्ने पहिरोको खतराबाट कसरी बच्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित रहेको जानकारी दिनुभयो ।

नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पबाट उत्पन्न परिस्थितिको सामना, पीडितलाई सहायता र राष्ट्रिय एकताका साथ अगाडि बढ्नेमा बैठक केन्द्रित रहेको बताउनुभयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपछिको पुनःस्थापन, पुनःनिर्माण र नयाँ नेपाल निर्माण गर्न राष्ट्रिय एकताको आवश्यकतामा आफ्नो दलले विशेष जोड दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान निर्माण गर्न राजनीतिक सहमति सहितको बलियो सरकारको आवश्यकताबारे पनि बैठकमा छलफल भयो । ”

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत उपस्थित हुनुहुन्थ्योे ।