राहत नपुगेको स्थानमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह

जेष्ठ ३, काठमाण्डौ – सरकारले राहत नपुगेको ठाउँमा प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न पिडितहरुलाई आग्रह गरेको छ । राहत वितरणको काम निरन्तर भैरहँदा पनि नपाएको गुनासो आएपछि सरकारले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न आग्रह गरेको हो । तर राहत पाइसकेकाले त्यसो नगर्न गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद ढकालले सबैलाई आग्रह गर्नुभयो ।

विपत्को बेलामा सबैले सबैलाई सघाउनुपर्ने भन्दै उहाँले अरुको पनि भाग राखिदिन आग्रह गनुभएको हो । यसैगरी आज पनि राहत र उद्दारको काममा सरकार जुटेको छ । गृह मन्त्रालयका प्रवक्ता ढकालले आज पनि भूकम्प प्रभावित ठाउँमा दाल, चामल, तेल, नुन आदि पकाएर खान मिल्ने खानेकुरा लगिरहेको बताउनुभयो ।
विशेषगरी बैशाख २९ गतेको पराकम्पका कारण बढी प्रभावित दोलखा, रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक लगायतका ठाउँमा राहत वितरणको काम भैरहेको छ । प्रवक्ता ढकालले चाउचाउ, बिस्कुट जस्ता जंक फुडको प्रयोग कम गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले देखाउनको लागि भन्दा पनि मनदेखि नै प्रभावितलाई सहयोग गर्न अपिल गर्नुभयो ।
यो सँगै भूकम्पबाट ज्यान गुमाएकाको शव पहिचान गरी सम्बन्धित परिवारलाई बुझाउने काम भैरहेको सरकारले जनाएको छ । पहिचान हुन बाँकी शव विभिन्न अस्पतालमा राखिएका छन् ।