टेलिकद्वारा भूकम्पपीडितका लागि २८ करोड सहयोगको प्रतिवद्धता

बैशाख २८ ,काठमाडौ – नेपाल टेलिकमले भूकम्प पिडितका लागि २८ करोड रुपैयाँ बढी सहयोग गरेको छ । गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएका जनताको लागि टेलिकमले कम्पनीको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तत्कालका लागि २५ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

सो रकम बराबरको चेक आज टेलिकम सञ्चालक समितिका अध्यक्ष, सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
यसैगरी कम्पनीमा कार्यरत कर्मचारीहरुको तलबबाट कट्टी गरिएको २ करोड ७५ हजार रुपैयाँ पनि उद्धार कोषमा उपलब्ध गराइएको छ । सो रकम बराबरको चेक टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।
सोही अवसरमा सञ्चालक समितिका पदाधिकारीहरुको ३ वटा बैठक भत्ता बराबरको ८१ हजार ६ सयको चेक समेत प्रधानमन्त्रीलाई हस्तान्तरण गरियो ।
साथै टेलिकमले विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माण कार्यको लागि १ अर्ब रुपैयाँ खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।
कम्पनीले विनाशकारी भूकम्पको पीडाबाट आहत भएका उपभोक्तालाई केही राहत पुगोस् भनेर गत बैशाख १२ गते भूकम्प गए पश्चातको समय देखि बैशाख १७ गतेसम्म १ अर्ब ४६ करोड रुपैयाँ बराबरको जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पूर्ण कलहरु, एसएमएस तथा डटा सेवा निःशुल्क उपलब्ध गराएको थियो ।