यसै वर्षभित्र संविधान जारी गर्ने ओलीको सङ्कल्प

बैशाख ११, काठमाण्डौ- नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले यही २०७२ सालभित्रै संविधान दिन आफूहरु कृतसङ्कल्पित रहेको बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको प्रेस व्यक्तव्यमा नेता ओलीले लोकतान्त्रिक आन्दोलनको सफलताका लागि सयौँको बलिदानी, घाइते र संलग्नताको स्मरण गर्दै पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुलाई आफूहरुको कमजोरी भएको स्वीकार गर्नुभएको छ ।
वर्तमान संविधानसभाबाट पनि तोकिएको मिति गत माघ ८ मा संविधान दिन नसकिएकामा कमजोरी भएको जनाउँदै आन्दोलनको अभिभारा पूरा गर्न आइपर्ने घुमाउरो तथा अप्ठ्यारा बाटालाई छिचोल्न तयार हुनुपर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “शान्तिप्रिय जनताको हौसला र साथ, सहयोग चाहेका छाँै, लोकतन्त्र दिवसका अवसरमा नेपाली जनताको आपसी सहयोग, सद्भाव र अठोटका साथ अघि बढ्न प्रेरणा देओस् भन्ने शुभकामना दिन चाहान्छु ।