गृह मन्त्रालयको फाइल अख्तियारबाट गायब

बैशाख १०, काठमाडौँ – गृह मन्त्रालयअन्तर्गतको भोटाहिटीमा कार्यालय रहेको समरजंग कम्पनी नामको प्रधानमन्त्री निवासनजिकै बालुवाटारमा रहेको एक सय ४४ रोपनी जग्गाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको छ ।

भूमाफियाले गृह मन्त्रालयको उक्त जग्गा कब्जा गरेपछि अख्तियारमा उजुरी परेको थियो । काठमाण्डु महानगरपालिका वडा नं. ४ मा तत्कालीन श्री ५ को सरकारको नाममा रहेको जग्गा भूमाफियाले व्यक्तिगत नाममा दर्ता गरेका छन् ।

२०६३ साल चैत ९ गते आयोगले भूमिसुधार तथा व्यवस्था मन्त्रालय र भूमिसुधार तथा व्यवस्था विभागले बोधार्थ दिएर लेखेको पत्रमा काठमाण्डु जिल्ला कामनपा वडा नं। ४ मा साविकमा श्री ५ को सरकार समरजंग कम्पनीको नाममा रहेको विभिन्न कित्ता जग्गा गैरकानुनी तरिकाले व्यक्तिगत नाममा दर्ता हुन लागेकाले छानविन गरी रोकिपाऊँ भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा आयोगबाट कारबाही अघि बढिरहेको छ ।