आज मातातीर्थ औंशी, आमाप्रति श्रद्धाभाव प्रकट गरेर मनाउँदै

बैशाख ५, काठमाण्डौ—जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व पौराणिक कालदेखि मनाइँदै आइएको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार औँसीका अवसरमा बिहान स्नान गरी आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन रहीआएको छ । यसदिन आमा नभएकाहरुले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा काठमाडौँको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ । मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

यसैविच आमाका लागि मिष्ठान्न किन्नेका कारण आज बिहानैदेखि मिठाइ पसलमा सर्वसाधारणको भीड लागेको छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् ।
पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालमा मातातीर्थ औँसी र यसको महत्व सम्बन्धमा विभिन्न किसिमले उल्लेख गरिएको पनि पाइन्छ ।

यसैविच मातातीर्थ औंसीका अवसरमा मातातीर्थमा लाग्ने मेला व्यवस्थित बनाउन ट्राफिक प्रहरीले विशेष व्यवस्था गरेको छ । आज बिहान ४ बजेदेखि थानकोट(कलंकी सडक खण्डबाट मातातीर्थ प्रवेश गर्ने मुख्य स्थान गुर्जुधारा, टेलिकम र बौथली चोकबाट मातातीर्थतर्फ जाने र बौथली चोकबाट सतुंगलतर्फ आउने सबै सवारीसाधनको प्रवेशमा पूर्ण रूपमा रोक लगाइएको छ।