प्रधानमन्त्री कोइरालासंग थाइल्याण्डका राजदूतको भेट

बैशाख ४, काठमाण्डौ— प्रधानमन्त्री सुशील कोइरालासंग नेपालका लागि थाईल्याण्डका राजदूत H.E. Mr. Vutti Vuttisant ले शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल र थाइल्याण्डबीचको कुटनीतिक, साँस्कृतिक, आर्थिक सम्बन्धका बारेमा कुराकानी भएको थियो ।भेटमा प्रधानमन्त्री कोइरालाले नेपाल र थाइल्याण्डबीचमा अत्यन्त सुमधुर सम्बन्ध रहेको जानकारी दिदै भगवान गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने बुद्धधर्माबलम्बी थाई जनताको मोहले यसलाई अझ सुदृढ बनाउदै लगेको बताउनु भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री कोइरालाले बिमस्टेकको क्षेत्रीय सदस्य रहेका दुइदेशका बीचमा सुचारु रहेको हवाई सेवाले सुसम्बन्ध विकसित गर्न निकै सहयोग गरेको बताउनुभएको थियो। प्रधानमन्त्री कोइरालाले विकासको लागि लोकतान्त्रिक शासनपद्धति,शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताउदै नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने बताउनुभयो । उहाँले नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

भेटका अवसरमा थाई राजदूतले नेपालमा थाइपर्यटकको संख्या बढ्दै गएको बताउनु भएको थियो । उहाँले थाइल्याण्डको दूशीत थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएर आतिथेय व्यावसायको अनुभवबाट नेपाललाई लाभ दिने प्रकृयाको आरम्भ भएको बताउनुभयो । उहाँले लुम्बिनीमा प्रसूति अस्पतालको निर्माण गरेको थाइल्याण्डले संयुक्त लगानीमा नेपालमा अस्पताल स्थापना गरेर गुणस्तरीय सेवा दिएको पनि बताउनु भयो ।
भेटमा थाई राजदूतले थाइल्याडमा पनि यस बर्षको अन्त्यसम्म नयाँ संविधान आउने बताउनुभएको थियो ।