आइपीएलमा राजस्थानको चौथो जित, हैदरावाद ६ विकेटले पराजित

बैशाख ४, काठमाण्डौ— आईपीएलको जारी प्रतिस्पर्धामा राजस्थान रोयल्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ। बिहीबार भएको प्रतिस्पर्धामा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम बलमा हारजितको टुंगो लागेको थियो । अन्तिम बलमा राजस्थानलाई एक रनको आवश्यकता थियो । जेम्स फाननरले चौका प्रहार गरेर आफ्नो टिमलाई जित दिलाए।

आइपीएलको यो सिजनमा राजस्थान रोयल्सको यो चौथो जित हो । अहिलेसम्म राजस्थान रोयल्सले एक खेल पनि हारेको छैन । राजस्थानको जितका लागि १२८ रनको लक्ष्य पाएको थियो । जुन उसले चार विकेट गुमाएर हासिल गरेको थियो ।
अजिंक्य रहाणे र सन्जुले शानदार सुरुवात गरेका थिए । रहाणेले अन्तिममा ६२ रनको पारी खेलेर आउट भए । जबकि सन्जु सैमसनले २६ रन बनाए । पहिला ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १२७ रन बनाएको थियो । प्रतियोगितामा शिखर धवन १० र डेभिड वार्नरले मात्र २१ रन बनाए ।
मार्गनले सर्वाधिक २७ रन बनाए भने नमन ओझाले २५ रनको योगदान दिए । रवि बोपारा र आशिष रेड्डीले अन्तिममा केही तिब्र रन बनाएर स्कोरलाई केही सम्मानजनक बनाउन सहयोग गरेका थिए । बोपाराले २३ र आशिषले नौ बलमा १३ रन बनाएका थिए । एजेन्सी