उपत्यकामा प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन गर्न आजदेखि अनुगमन

बैशाख २, काठमाण्डौ – सरकारले काठमाण्डू उपत्यकामा प्लाष्टिक झोलामा लगाईएको प्रतिबन्ध कार्यान्वयन गर्न आजदेखि अनुगमन गर्दैछ । अनुगमनका लागि ६ वटा टोली गठन गरिएको वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलले बताउनुभयो । सरकारले बैशाख १ देखि लागू हुने गरी उपत्यकामा ४० माईक्रोन भन्दा पातलो र २० बाई ३५ ईन्च साइज भन्दा कम भएका प्लाष्टिकमा प्रतिबन्ध लगाएको हो ।
अनुगमनका क्रममा विक्रेताले प्लाष्टिकका तोके भन्द कम माईक्रोनका प्लाष्टिकका झोला बेचेको पाइए तत्काल कराबाहि गरिने वातावरण विभागका महानिर्देशक सुरोज पोखरेलले बताउनुभयो । उहाँले उपभोक्ताले प्रयोग गरेको पाइए पहिलो चरणमा सम्झाई बुझाई गरिने र त्यसपछि मात्र कारबाहि थाल्ने बताउनुभयो । वातावरण संरक्षणका लागि भन्दै सरकारले काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लामा प्लाष्टिकका झोलाको आयात, बिक्रि, भण्डारण तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
प्लाष्टिकजन्य फोहोर जलाउँदा निष्काशन हुने विषाक्त ग्यासले क्यान्सर जस्ता रोग लाग्ने, प्लाष्टिकका झोलाले माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिजार्च हुन नदिने, नाला तथा ढललाई जाम गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्नुका साथै शहरी सौन्दर्यता पनि घटाउने भएकाले यसको कारोबारमा प्रतिबन्ध लगाएको वातावरण मन्त्रालयले जनाएको छ ।