पोखरामा आजदेखि फेवा नवबर्ष महोत्सव शुुरु  

चैत्र २८,पोखरा- पोखरामा आजदेखि फेवा नवबर्ष महोत्सव शुुरु हुँदैछ । पश्चिमाञ्चल होटल संघ पोखराले नेपाली नयाँवर्षको अवसर पारेर लेकसाईडस्थित बसुन्धरा पार्कमा महोत्सव गर्न लागेको हो । पोखराको गहनाको रुपमा रहेको फेवातालसँगै नेपाली सँस्कृतिको संरक्षण गर्ने उद्देश्यले होटल संघले १२ औं पटक गर्न लागेको महोत्सव आगामी बैशाख २ गतेसम्म चल्नेछ ।

पर्यटन, सँस्कृति र खानालाई केन्द्रित गरी हुन लागेको महोत्सवमा कूल ६० वटा स्टल रहनेछन् भने पर्यटक दौड, डुंगा दौड, खानाका स्टल, सडक महोत्सव, नाचगानका कार्यक्रम र बाल उद्यान महोत्सवको आकर्षणको रुपमा रहेको संघका महासचिव तथा महोत्सव प्रचारप्रसार समिति संयोजक भेकेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा सहभागि हुन र नयाँबर्ष मनाउन यतिबेला पोखरामा पर्यटकहरु आउन शुरु गरेका छन् । खासगरि राजधानी काठमाण्डौंसँगै नेपालका विभिन्न जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु आउन थालेको संघका अध्यक्ष भरतराज पराजुलीले बताउनुभयो ।
यसपटकको महोत्सवमा चीनबाट समेत स्टलहरु राखिनेछन् । चीनको विइसियानबाट त्यहाँका मेयर सु चुनहुई सहितको टोली पोखरा आउने संघका सल्लाहकार विश्वशंकर पालिखेले जानकारी दिनुभयो ।