छ जनाको हत्या गर्ने ‘सिरियल किलर’लाई सर्वस्वसहित ३५ वर्षको कैद फैसला

चैत्र २५, भक्तपुर- नौ वर्षयता छजनाको हत्यामा संलग्नता रहेको अभियोगमा पक्राउ परेका सिरियल किलर अभिषेकराज सिंहलाई भक्तपुर जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

नेपालगञ्ज नगरपालिका–३ घरबाटीटोल घर भई ललितपुरको रिलायवल कोलोनीमा बस्ने वर्ष ३३ का सिंहले २०६९ साउन ७ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ गठ्ठाघर बस्ने बुद्ध भन्ने जगत्सिंह तामाङलाई अपहरण गरी साउन १० गते हत्या गरेको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला भएको हो ।
सिंहले अपह्ररित तामाङलाई भारत उत्तरप्रदेश फैजावाद पु¥याएर हल्दीमा ट्राइट २५ एमजी मिसाएर खुवाई बेहोस बनाई १० एमजीको स्टगन सूई पाँचपटक दिई हत्या गरी सडकबाट फालेर नेपाल आएको स्वीकारेको अदालतले जनाएको छ ।
अदालतका न्यायाधीश लेखनाथ ढकालको एकल इजलासले हिजो साँझ गरेको फैसलामा तामाङको अपहरण गरेकामा १५ वर्ष जेल र रु एक लाख जरिवानाको फैसला सुनाएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले आज राससलाई जानकारी दिनुभयो ।
तामाङकै हत्यासम्बन्धी ज्यान मुद्दामा सर्र्वस्वसहित जन्मकैद र तामाङको परिवारलाई रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने पनि फैसला गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी सिंहले २०७० साल असोज ९ गते काठमाडौँ महानगरपालिका–३५ का लोमस औषधि कम्पनीको स्टोर प्रबन्धक रहेको ३२ वर्षीय नीरजजङ्ग पाण्डेलाई धनुषा बेंगाडावर–८ लालगढस्थित पूर्व–पश्चिम राजमार्ग नजिक पु¥याएर हत्या गरेका थिए ।
सिंहले जग्गाको कमिसन विवादमा काठमाडौँ इचँगुनारायण–२ का निरप भन्ने नरबहादुर गोतामेलाई २०६७ साल साउन ११ गते सुर्खेतको आशीर्वाद होटलमा लगेर ५ वटा डाइजिपाम र ४ नाइट्रोभेट इन्जेक्सन दिएर बेहोस बनाई हत्या गरेका थिए ।
त्यस्तै उनले २०६९ साल कात्तिक १३ गते काभ्रे शङ्खु पाटीचौर–४ घर भई कोटेश्वर बस्ने सार्कीमान तामाङको पनि हत्या गरेका थिए । अभिषेककै घरमा खाना पकाउने तामाङबाट आफ्ना गोप्य जानकारी सार्वजनिक गरिदिने आशङ्कामा सिंहले सुन्धारास्थित न्यु आकाश गेस्टहाउसको १०२ नम्बर कोठामा लगेर रक्सी खुवाई बेहोस बनाएर हत्या गरेका थिए ।
सिंहले हत्या गरेका चार जनाको पहिचान भए पनि अन्य दुई जना भने पहिचान हुन नसकेको प्रहरीको भनाइ छ ।