आज विश्व स्वास्थ्य दिवस,स्वस्थ खानेकुरामा जोड दिँदै मनाईंदै

चैत्र २४, काठमाण्डौ- स्वस्थ खानेकुरामा जोड दिँदै मंगलबार विश्व स्वास्थ्य दिवस मनाईंदैछ । अस्वस्थ खानेकुराका कारण संसारमा हरेक वर्ष २० लाख मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको अनुमान छ ।

ज्यान जानेमध्ये धेरै बालबालिका रहेको डब्लुएचओले जनाएको छ । खानेकुरालाई सफा गरेर नराख्दा तथा त्यस्ता खानेकुरा खाँदा विभिन्न रोगको संक्रमण हुने डाक्टरले बताएका छन् । उनीहरुका अनुसार अस्वस्थ खानेकुराका कारण झाडापखालादेखि क्यान्सर जस्ता दुई सय भन्दा बढी रोग लाग्छ ।
खानेकुरा बनाउने, प्याकिङ गर्ने, वितरण गर्ने र खाने क्रममा सफा तरिका अपनाउन डब्लुएचओले जोड दिएको छ । खाना बनाउने ठाउँ अलग्गै बनाए र सफा पानी प्रयोग गरे रोग लाग्नबाट बच्न सकिन्छ । सरकारले भने स्वास्थ्य दिवसको अवसरमा सरकारले भने कुनै कार्यक्रम गर्ने छैन ।
बन्दका कारण आजका लागि तय गरिएको चेतनामूलक कार्यक्रम सारिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ ।