राणा र थापा दश वर्षपछि एउटै मञ्चमा देखिए

चैत ११, बागलुङ -एकता प्रक्रियामा जुटेका राप्रपा र राप्रपा नेपालका अध्यक्ष दश वर्षपछि एउटै मञ्चमा देखिनुभएको छ ।यहाँ आयोजित संयुक्त चुनावीसभामा राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्बोधन गर्दै पार्टी एकीकरणको प्रक्रिया आरम्भ भएको घोषणा पनि गर्नुभयो ।

यही चैत २८ गते बागलुङ क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा साझा उम्मदेवार बनाएका दुवै दलले चुनावीसभालाई ‘एकताको सन्देश’ भनेका छन् । “दुई दलबीचको एकता नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि कोसेढुङ्गा बनेको छ”, थापाले भन्नुभयो, “आज मलाई गर्व लागेको छ, दश वर्षपछि राप्रपाका श्रद्धेय अध्यक्षसामु एउटै मञ्चमा उभिएर आफ्ना अभिव्यक्ति राख्न पाएको छु ।”
सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राणाले एकताका लागि अधिकतम प्रयास भइरहेको बताउनुभयो । “एकता प्रक्रिया सुरु भएको छ, मुलुकलाई नयाँ नेतृत्व दिन हाम्रो एकता आवश्यक छ”–उहाँले भन्नुभयो, “हरसम्भव प्रयास भइरहेको छ, यसले एउटा बलियो राष्ट्रवादी शक्तिको निर्माण गर्नेछ ।”
दुवै दलले राप्रपा नेपाल बागलुङका अध्यक्ष नवीनचन्द्र गर्वुजा मगरलाई उपनिर्वाचनमा साझा उम्मेदवार बनाएका छन् ।