ताप्लेजुङमा लागेको आगो अझै नियन्त्रण बाहिर

चैत्र १०,ताप्लेजुङ- ताप्लेजुङ सदरमुकाम फुङलिङमा सोमबार साँझ देखि भएको भीषण आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । आगलागीमा परी ३५ घर जलेर नष्ट भएका छन्। ५० भन्दा बढी पसल तथा कार्यालयमा क्षति पुगेको छ। बेलुकी साढे ७ बजेबाट सुरु भएको आगो इलाम र झापाबाट आएका दुईओटा दमकलले नियन्त्रणको प्रयास जारी राखेका छन्। अहिले पनि धुँवाको मुस्लो निस्किरहेको र कतिबेलासम्म आगो पूर्ण रुपमा नियन्त्रण हुने भन्ने यकिन छैन।आपतकालिन राहत कसरी उपलब्ध गराउने र दिर्घकालिन राहतका लागि केन्द्रसँग के अनुरोध गर्ने भन्नेबारे छलफल गर्न जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसिरहेको छ।घटनामा अहिलेसम्म कुनै मानवीय क्षती भने भएको छैन। फुङलिङको पूर्वेली होटलबाट सुरु भएको भनिएको आगो क्षणभरमै करिब चार मिटर दायाँबायाँका घरमा फैलिएको थियो।