९ बुँदे निर्णय सहित सकियो युवा संघको विस्तारित बैठक

चैत ९, हेटौँडा-नेकपा एमालको भातृ संगठन युवा संघ नेपालको हेटौंडामा भएको दुई दिने विस्तारित बैठक सकिएको छ । बैठकले ९ बुँदे निर्णय र १२ बुँदे प्रस्ताव पारित गरेको छ । बैंठकले युवा संघमा देखिएको विवाद मिलाउन छानविन समिति गठन गर्ने, युवा संघ बारे नेता माधवकुमार नेपालले दिएको अभिव्यक्ति प्रति खेद व्यक्त गर्दै अभिव्यक्तबारे छानविन गरी कारवाहीका लागि एमालेलाई माग गर्ने लगायतका राजनैतिक एवं सांगठनिक निर्णय गरेको छ ।

बैठकको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै युवा संघका निवर्तमान अध्यक्ष महेश बस्नेतले केपि ओलीको पक्ष लिएकै आधारमा युवा संघमा विवाद निकालेको दावि गरेका छन् । चैत ७ र ८ गते भएको बैठकले संघको नवौं राष्ट्रिय महाधिवेशन निर्धारित समय भन्दा छिटो गर्न मिति, समय र स्थानसहित तय गर्नका लागि केन्द्रिय कमिटिलाई अधिकार प्रत्यायोजन गर्ने, संगठनका उपाध्यक्ष दिलु पन्त, सचिव अशोक चन्द, नरेश शाही, हस्त शाही लगायतले समानान्तर गतिविधि गर्ने, मिडियामा गलत अभिव्यक्ति दिने, आर्थिक अनियमितता गरेको सम्बन्धमा छानविन गर्ने लगायतका निर्णय गरेको छ । हेटौडा बैंठकमा ६१ जिल्लाका अध्यक्ष, १६ अञ्चल समिति, एक सय ४३ जना केन्द्रिय सदस्यको सहभागिता रहेको उनीहरुको दावि छ ।