युवा संघको छुट्टाछुट्टै कार्यक्रममा शीर्ष नेताहरु नै विभाजित

चैत ७, काठमाडौँ-संगठनभित्रको विवाद उत्कर्षमा पुगेका बेला एमालेको भ्रातृसंगठन युवा संघका दुई समुहले आज छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । पार्टीको अनुशासन आयोगले भेला रोक्न निर्देशन दिएपनि अध्यक्ष केपी ओली पक्षले हेटौडा र नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा कार्यक्रम आयोजना गरेका हुन् ।

काठमाडौंको कार्यक्रमलाई नेता नेपाल, पोलिटव्यूरो सदस्य वेदुराम भुसाल, पशुपति चौलागाईँ लगायतले सम्वोधन गरे भने हेटौडाको कार्यक्रममा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी र महासचिव इश्वर पोखरेलसहितका नेता पुगेका थिए । संघको अध्यक्षमा निरु पाललाई चयन गरिएपछि असन्तुष्ट समूह दिलु पन्तको नेतृत्वमा समानान्तर समिति बनाएको छ ।
यसैवीच, नेता नेपालले युवा संघमा उत्पन्न विवादका लागि पार्टी नेतृत्व जिम्मेवार रहेको बताउनुभएको छ । राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले युवा संघको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओलीले प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप लगाए ।